काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन आँट देखाउने र हेर्ने विषय नभएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा बिहीबार सांसदहरुसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनको आठ वर्षको अनुभव र देशको आवश्यकताका आधारमा संविधान संशोधन गरिने बताउनुभयो । आँट देखाउने भएर उल्किन जरुरी नभएको भन्दै उहाँले जे आवश्यक छ, त्यो आँट नगर्ने भन्ने हुदैन भन्नुभयो । संविधान संशोधन साझा सवाल भएको भन्दै ओलीले आँट गर्न पर्ने अवस्था आए सवैले गरौंला भन्नुभयो ।
जनतामा रहेको असन्तुष्टिलाई नियोजित रुपमा भड्काउन् प्रयास भईरहेको जिकीर गर्दै प्रधानमन्त्री ओलीले जनतामा जति असन्तुष्टि छ त्यो भन्दा बढी असन्तुष्टि छ भनेर भड्काउने काम भइरहेको आरोप लगाउनुभयो । उहाँले जति नकारात्मक बोल्यो त्यति चर्चित भइन्छ भन्नेहरुले जनतामा असन्तुष्टि छ भनेर देखाउन खोजेको बताउनुभयो ।
यस्तै भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै बहानाबाजी नखोज्ने भन्दै उहाँले भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति मौखिक प्रतिवद्धता मात्र नभएको र हल्लाखल्ला गर्ने विषय नभएको बताउनुभयो । त्रिभुवन विश्वविद्यालयमा राजनीतिकरणका कारण असुरक्षा बढेको भन्ने सांसदहरुको प्रश्नमा प्रधानमन्त्री ओलीले ‘आफैँ ताला लगाउने अनि पढाइ भएन भन्ने ?’ भन्दै प्रतिप्रश्न गर्नुभयो । विश्वविद्यालयमा बाहिरबाट आएर कसैले ताला नलगाईदिने भन्दै उहाँले आफैँ ताला लगाउने अनि पढाइ भएन भन्ने ? भन्दै प्रश्न गर्नुभयो ।
डेडिकेटेड र ट्रंकलाइनको बक्यौतामा ब्यापारीहरुलाई छुट दिन खोजिएको सम्बन्धि जिज्ञासामा प्रधानमन्त्री ओलीले उठाउनु पर्ने बक्यौता एक रुपैयाँ पनि नछाड्ने दाबी गर्नुभयो । बक्यौता उठाइन्छ, एक रुपैयाँ पनि छोडिँदैन भन्दै उहाँले तर उद्योग बन्द गरेर होइन उद्योग चलाएरै बक्यौता उठाइन्छ भन्नुभयो । किन समयमा महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइड जोडियो भन्ने प्रश्न विद्युत प्राधिकरणसंग जोडिने उहाँको भनाइ थियो ।
केही दिन अघि नेपाल भ्रमणमा आएका अमेरिकी डेपुटी सेक्रेटरी रिचार्ड आर बर्माको भ्रमणका क्रममा बर्मासँग स्टेट पार्टनरशीप कार्यक्रम एसपीपीबारे छलफल भए÷नभएको प्रश्नमा प्रधानमन्त्री ओलीले अमेरिकाबाट अहिले त्यस्तो कुनै प्रस्ताव नआएको बताउनुभयो । नेपाली सेनालाई दुई वटा हेलिकप्टर दिने जानकारी बर्माले दिए पनि एसपीपीबारे कुनै कुरा नभएको ओलीको दाबी थियो ।
प्रधानमन्त्री ओलीलाई विभिन्न दलका १३ जना सांसदले लिखित प्रश्न सोधेका थिए । सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा ओलीले आफ्नो सरकारलाई असफल हुने छुट नरहेको विषय दोहो¥याईरहनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्