१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024


उदयपुरमा चुनढुङ्गाको जथाभावी दोहनले विकराल समस्या निम्तिँदै


390
Shares

उदयपुर (खेमराज दाहाल) । उदयपुरको कटारी क्षेत्रमा सिमेन्ट कारखानाले जथाभावी चुनढुङ्गा उत्खनन गर्दा यहाँका मानव बस्ती संकटमा परेका छन् । चुनढुङ्गाको जथाभावी दोहनले कटारी नगरपालिका– ८ स्थित सिरिसे र थलियाटारका बस्ती पुरै उठिबास हुने अवस्थामा पुगेका छन् ।

सिरहाका कारखाना रहेको सौर्य सिमेन्ट उद्योगले चुनढुंगा उत्खनन गर्दा अपनाउनु पर्ने मापदण्ड पुरा नगरेका कारण उदयपुरको कटारीमा बस्ती नै उठिबास हुने अवस्था आएको हो । चुनढुंगा निकाल्दा खेर जाने ढुंगा, माटो र बालुवाको व्यवस्थापन राम्रोसँग नगर्दा सिरिसे र थलियाटारका पीडित बनेका हुन् । कुनबेला माथिबाट ढुङ्गा झरेर किच्ने हो भन्ने डरले स्थानीय सुत्नसमेत सकेका छैनन । दिनहुँ चुनढुङ्गा निकाल्दा पानीका मुहान सुक्नुका साथै खेतीयोग्य जमिनसमेत बन्जर बन्दै गएका छन् । चुन ढुंगा निकाल्दा उडेको धुलोले ठूलो क्षेत्रफलमा वातावरणीय प्रभाव समेत पर्न थालेको छ । धुलोले जंगल समेत धुलाम्मे बनेका छन् भने घाँसपात समेत वस्तुभाउले खान छोडेका छन् । पानीका मूलहरु सुक्दा स्थानीयमा हाहाकार मच्चिएको छ ।

गाउँमा खेती किसानी गरेर बस्दै आएका सिरिसे र थलियाटारका स्थानीय अहिले खेतबारीमा लगाएको खेतीबाट उब्जनी नहुने र अलिअलि उब्जनी भएपनि धुलो मिसिएर कामै नलाग्ने समस्या हुने गरेको बताउँछन् । जंगलमा घाँस दाउरा गर्न जानसमेत डरलाग्दो भएको र गाईबाख्रा समेत ढुंगा झरेर मर्लान भन्ने त्रास हुने गरेको उनीहरुको गुनासो छ ।

वर्र्षायामको समस्या झन् विकराल हुने गरेको छ । खानीबाट निस्केको लेदो बगेर पानीका मुहान पुरिदिने, खेतबारीमा अन्नबाली पुरिदिने, कुलो पुरिदिने जस्ता समस्या हुने गरेको छ । चुनढुंगा उत्खननले मानवीय, वातावरणीय र सामाजिक समस्या मात्रै निम्त्याएको छैन । क्षमताभन्दा बढी भारका ढुवानीका साधन आवतजावत गर्दा कटारी बजार क्षेत्रका वासिन्दासमेत दिक्क भइरहेका छन् । चुनढुंगा बोकेर हुँइकिने गाडीले उडाउने धुलोले कटारी बजारका बस्तीसमेत ढाकिने गरेका छन् । त्यसमाथि निरन्तरको ध्वनी प्रदुषणले बालबालिकाको पठनपाठन समेत प्रभावित भएको छ । तीव्र गतिका ढुवानी गाडीहरुले बढाएको दूर्घटनाको त्रास आफ्नै ठाउँमा छ ।

कच्चा पदार्थ उत्खनन गर्ने क्षेत्रका बस्ती हटाउनुपर्ने र त्यस क्षेत्रमा अनिवार्य वृक्षारोपण गर्नु पर्ने मापदण्ड भए पनि यो उद्योगले कुनै पनि मापदण्ड पुरा गरेको छैन । मावन बस्ती तथा पर्यावरण जोगाउनका लागि स्थानीय सरकार र जिल्ला प्रशासनलाई पटक पटक आग्रह गर्दा पनि उनीहरु उल्टै उद्योगसँग मिलेर आफूहरुको आवाज नसुनेको गुनासो पनि स्थानीयको छ ।

जथाभावी चुनढुंगा उत्खननले युगौंदेखि बस्दै आएको सुन्दर शान्त गाउँले जीवन संकटमा परेको मात्रै छैन आफ्नो थातथलोमा बाँच्न र बस्न पाउने नागरिकको अधिकारको समेत हनन् भएको छ ।