काठमाडौं । उपत्यका प्रहरी कार्यालयले बिहीबारका लागि एकीकृत सुरक्षा योजना लागू गरिने जनाएको छ ।
परस्पर विरोधी दुई पक्षको प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्थालाई चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डीआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर खडा गरेको जनाएको हो ।
कमाण्ड सेन्टरमा सशस्त्र प्रहरी बलका एसएसपी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक प्रदेश सिंह हमाल र नेपाली सेनाका कर्णेल सहितको ‘संयुक्त टिम’ गठन गरिएको छ । सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको छ ।
प्रदर्शनस्थल र जुलुस आउने बाटोमा १ हजार बढी सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौंमा करिब २ हजार ५ सय, ललितपुरमा ५ सय बढी र भक्तपुरमा ४ सय जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिने छ ।
यसैगरी उपत्यका अपराध अनुसन्धान कार्यालयबाट २ सय जना सादा पोसाकका प्रहरी प्रदर्शनस्थलमा परिचालित हुने पनि जनाइएको छ । यस्तै, थप दुई वटा ड्रोनबाट प्रदर्शनको निगरानी गरिने जनाइएको छ । यसैगरी प्रदर्शन स्थलमा मोबाइल नेटवर्क सम्बन्धि २ वटा ज्यामर भेहिकल प्रयोग गरिने पनि जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्