Logo ११ कार्तिक २०८३, बुधबार | Thu Oct 29 2026


उद्योग सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


1.5k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग मन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपाल टेलिकममा प्रबन्ध निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नेशनल पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दामा दायर गरिएकाहरुमा उद्योग सचिव मधुकुमार मरासिनी, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, पूर्वसचिव एवम् राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सञ्जय शर्मा रहेका छन् । यस्तै, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हालका उपनिर्देशक सफल श्रेष्ठ, केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश प्रसाद पोखरेल, केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली र रामबहादुर बुढा तथा केन्द्रका कम्प्युटर इन्जिनियर रामशरण गायकविरुद्ध मुद्दा दायर गरिएको छ ।

अख्तियारले आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागतमा पेमेन्ट गेट वे खरिद गरी २५ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको छ । अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख मधुकुमार मरासिनीले नीति तथा कार्यक्रममै नपरेको तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रले बजेट नै माग नगरेको नेशनल पेमेन्ट गेटवे खरिदका लागि २५ करोड बजेट निकासी गरिदिएको अख्तियारको जिकीर छ । अख्तियारले आरोपीहरुबाट २५ करोड बराबरकै विगो पनि असुल उपर गर्न माग गरेको छ ।

Skip This