सुनवल सबस्टेसनको निर्माण अन्तिम चरणमा « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Tue Nov 29 2022


सुनवल सबस्टेसनको निर्माण अन्तिम चरणमा


533
Shares

काठमाडाैं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि निर्माणाधीन १३२ केभी सुनवल सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

सुनवल नगरपालिका–७ मा निर्माणाधीन सबस्टेसनको निर्माण एक महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको छ । सबस्टेसनका उपकरणहरु जडान धमाधम भइरहेको छ । १३२/३३/११ केभी सबस्टेसनमा ६३ एमभीएका दुई वटा र २२ दशमलव ५ एमभीएको एउटा पावर ट्रान्सफर्मर रहने छ ।

सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ३३ केभीका ७ वटा र ११ केभीका ४ वटा फिडरहरु निकालिने छन् । हाल सञ्चालनमा रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट सुनवल सबस्टेसनमा विद्युत् आपूर्ति दिइने छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, लुम्बिनी प्रादेशिक कार्यालयका निर्देशक नवराज ओझालगायतको उच्चस्तरीय टोलीले सबस्टेसन निर्माण प्रगतिको स्थलगत अनुगमन गरी एक महिनाभित्र सञ्चालनमा ल्याउन आग्रह गरेको छ ।

टोलीले परासी र भैरहवा क्षेत्रमा निर्माणाधीन प्रसारण तथा वितरण लाइन आयोजनाहरूको प्रगति, आगामी दिनमा नपलपरासी र रुपन्देहीको दक्षिण भेगमा हुने बस्ती तथा औद्योगिक क्षेत्र विस्तारका लागि आवश्यक पर्ने विद्युतीय पूर्वाधारलगायतका विषयमा जानकारी लिएको छ । औद्योगिक करिडोरमा विद्युत् आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत प्राप्त भएको बजेटमा सुनवल सबस्टेसन निर्माण गरिएको हो ।