Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


रोमनियामा मेसिनमा च्यापिएर म्याग्दीका एक युवाको मृत्यु


7.6k
Shares

म्याग्दी । पैसा कमाएर घर परिवारलाई सुखसँग पाल्ने सपना बोकेर तीन महिना अघि वैदेशिक रोजगारीका लागि रोमनियामा पुगेका म्याग्दीका एक युवाकाे ज्यान गएकाे छ ।

गत साउनमा रोमनिया पुगेका रघुगंगा गाउँपालिका –६ रायखोरका ३३ वर्षीय देबेन्द्र पुनको बुधवार (नोभेम्वर २) टिमिसोरा शहरको भिजेजदिया नजिक बानट मेलन एग्रीकल्चर कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर मृत्युभएको म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमिति (मोना आइईसी) का महासचिव हरि राम्जालीले जानकारी दिनुभयाे ।

काम गर्ने क्रममा मेसिनमा च्यापिएर मृत्यु भएपछि घर परिवारको विचल्ली हुनुको साथै पुरै गाउँ शोकमा डुबेको छ । वैदेशिक रोजगारका लागि ३ महिना अघि मात्रै रोमनिया पुग्नुभएका पुनको दिउँसो करिब ३ बजेको समयमा आलु फार्ममा काम गर्दा आलु टिप्ने मेसिनको वेल्टमा च्यापिएर ज्यान गएको महासचिव राम्जालीले बताउनुभयाे ।

पुनको निधनको खबरले रायखोर गाउँ शोकमा डुबेको छ । पुनको परिवारमा आमा, बुबा, दाइ, श्रीमती र दुई छोराहरु रहेका छन् । पुनको शवलाई नेपालमा ल्याउनका लागि पहल भइरहेको रघुगंगा गाउँपालिका –६ का वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयाे ।३३ वर्षको कलिलो उमेरमा भएको पुनको निधन प्रति म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमितिले दुख व्यक्त गरेको छ ।

बिहीबार मोना आईईसीका महासचिव राम्जाली र अध्यक्ष अमर छन्त्यालले शोक वक्तव्य जारी गर्दै मृतकको पुनको घटनाको यथार्थ विवरण लिने जनाएका छन् । मृतक पुनको शवलाई यथासक्य नेपालमा ल्याउनका लागि पहल गर्न मोना रोमनियालाई अनुरोध समेत गरिएको छ । साथै मोना अन्तराष्ट्रिय कार्यसमितिले पनि आवश्यक सहयोग तथा समन्वय गर्ने जनाएको छ ।