Logo १५ कार्तिक २०८३, आइतबार | Sun, Nov 1, 2026


पृथ्वी राजमार्ग सोमबार तीन घण्टा बन्द हुने


0
Shares

काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारस्थित पृथ्वी राजमार्ग सोमबार तीन घण्टा बन्द हुने भएको छ।

आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोक्न लागिएको हो।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मझिमटार क्षेत्रमा सबै प्रकारका सवारी साधनको आवागमन बन्द रहने जनाएको छ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड), मुग्लिङ चितवनको सूचनाका आधारमा सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत सन्देश मास्केले जानकारी दिए। उनका अनुसार दिउँसो २ बजेपछि भने सडकमा सवारी आवागमन पुनः सञ्चालन हुनेछ।

निर्माण कार्यलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न निर्धारित समयका लागि सवारी आवागमन रोक्न लागिएको प्रशासनले जनाएको छ।

पृथ्वी राजमार्ग हुँदै काठमाडौं, चितवन, पोखरा लगायतका विभिन्न गन्तव्यमा आवतजावत गर्ने सवारी साधन प्रभावित हुने भएकाले यात्रुलाई समय व्यवस्थापन गरेर यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।

Skip This