शुभकला राई, ओखलढुंगा ।
१० औँ व्याकुल माइला गोल्डकपको अवलोकनका क्रममा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री खिनु लङवा (लिम्बु) ले खेलकुदले समाज र राष्ट्रलाई एकताबद्ध बनाउन महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।
उहाँले यस प्रतियोगिताले खेलाडीको शारीरिक स्वास्थ्यसँगै स्थानीय पर्यटनको विकासमा समेत ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै, व्याकुल माइला खेलकुद मैदानको विकास र वातावरण संरक्षणका लागि मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ६ हिलेपानी सोक्मटारस्थित खेलमैदानमा जारी प्रतियोगितामा पुरुषतर्फ १८ र महिलातर्फ ४ गरी कूल २२ वटा समूह सहभागी छन् । नेपालको राष्ट्रिय गानका रचनाकार प्रदीप कुमार राई (व्याकुल माइला) को सम्मानमा आयोजित यस प्रतियोगिता गएको कात्तिक ९ गतेदेखि सञ्चालन भइरहेको छ ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले नगद ३ लाख ३ सय ३३ रुपैयाँका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख ५० हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी सेमिफाइनलमा पुग्ने दुई समूहले ४०-४० हजार रुपैयाँसहित पुरस्कार पाउनेछन् ।
महिला फुटबलतर्फको विजेताले नगद २५ हजार, उपविजेताले १५ हजार र सहभागी अन्य दुई समूहले ५-५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । मौसममा आएको परिवर्तनका कारण दुई दिन स्थगित भएको प्रतियोगिता आजबाट पुनः सुरु भएको छ ।









प्रतिक्रिया दिनुहोस्