काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वाणिज्य बैंकहरूले १९ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकहरूको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ अर्ब रुपैयाँले बढेको हो ।
गत वर्षको पहिलो त्रैमासमा बैंकहरूले १३ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएका थिए । यसरी बैंकहरूको खुद नाफा ४५ प्रतिशतले बढेको छ । सबैभन्दा बढी नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ ।
नबिलले तीन महिनामा २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले २ अर्ब ३१ करोड र तेस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको छ । यस्तै, एभरेस्ट बैंकले १ अर्ब २५ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब १८ करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब १८ करोड र एनएमबि बैंकले १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।
कृषि विकास बैंकले १ अर्ब १ करोड, कुमारी बैंकले १ अर्ब ७ करोड र सानिमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएका छन् । २० वाणिज्य बैंकमध्ये १० वटाले एक अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका हुन् । नाफा वृद्धिका हिसावले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सुधार उल्लेख्य देखिएको छ ।
बैंकले गत वर्षको पहिलो त्रैमासमा ४५ करोड ५ लाख रुपैयाँ नाफा कमाएकोमा यस वर्ष १ अर्ब १८ करोड १४ लाख रुपैयाँ पुर्याएको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकले गत वर्षको ५८ करोड ८७ लाख रुपैयाँबाट बढाएर १ अर्ब ६४ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको छ ।
कृषि विकास बैंकको नाफा पनि ५७ करोड ३८ लाखबाट बढेर १ अर्ब ९ करोड २३ लाख रुपैयाँ पुगेको छ ।









प्रतिक्रिया दिनुहोस्