अस्ताउँदो सूर्यलाई अर्घ दिइयो (तस्बिरहरु) « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Tue Nov 29 2022


अस्ताउँदो सूर्यलाई अर्घ दिइयो (तस्बिरहरु)


143
Shares

काठमाडौं । छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आरधना गरी अर्घ दिईएको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

छठपर्वमा ब्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई ब्रतालुका सन्तानको भलो हुन्छ भन्ने मान्यता छ । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार ब्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने विधि विधान रहेको छ । कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ दिएमा छालारोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । केही वर्षअघिसम्म तराईमा सीमित छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । सरकारले छठ पर्व मनाउन सार्वजनिक बिदा दिने गरेको छ ।

छठपर्वका लागि राजधानीको गुह्येश्वरीघाट, गौरीघाट क्षेत्र, गहनापोखरी, नागरपोखरी, कमलपोखरीलगायत वाग्मती, नख्खु र विष्णुमतीलगायत क्षेत्रमा बनाइएको मण्डपमा बर्तालुले छैठ माताको पूजाउपासना गरिरहेका छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् । सोमबार उदाउँदो सूर्यको उपासना गरेपछि छठी ब्रतको विधिवत समापन हुन्छ ।