Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


पहिरोका कारण ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत सेवा अवरूद्ध

सदरमुकाम मार्तडीसहित अन्य क्षेत्रका घरपरिवार अँध्यारोमा बस्न बाध्य

91
Shares

काठमाडाैं । बाजुरामा शनिबार रातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा अवरुद्ध भएको छ ।

सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका-८ सुवाकाँध, वीरेखोला, नुनेपानी क्षेत्रमा पहिरोले करिब ३२ वटा विद्युत्का खम्बा ढालेपछि विद्युत आपूर्ति बन्द भएको हो। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराले सुवाकाँधमा सडकमाथिबाट ठूलो पहिरो खस्दा सात र वीरेखोला क्षेत्रमा २५ वटा खम्बा ढलेकाे जनाएकाे छ।

शनिबार रातिदेखि जिल्लाभर विद्युत सेवा बन्द भएकामा हालसम्म सञ्चालन नभएको हाे। प्राधिकरणले अवरुद्ध विद्युत सेवा सञ्चालनका लागि आइतबार दिनभर प्राविधिकको टोली खटिएकाे जनाएकाे छ। अछामबाट जिल्ला सदरमुकाम मार्तडीसम्म ३३ केभी राष्ट्रिय प्रसारण लाइनको विद्युत सञ्चालनमा छ।

जिल्लामा शनिबारदेखि लगातार परेको वर्षाका कारण साँफे-मार्तडी सकडखण्डका विभिन्न स्थानमा पहिरो जाँदा विद्युत्का खम्बा तथा प्रसारण लाइनमा क्षति पुगेपछि जिल्लाभर विद्युत आपूर्ति बन्द भएको हाे। विद्युत सेवा बन्द हुँदा सदरमुकाम मार्तडीसहित अन्य क्षेत्रका घरपरिवार अँध्यारोमा बस्न बाध्य भएका छन् ।