१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024


नागरिकता विधेयक प्रमाणिकरण नगरे राष्ट्रपति भण्डारीको राजीनामा वा अदालत: अध्यक्ष प्रचण्ड

अहिले नै प्रधानमन्त्री भए देश र जनताका लागि फाइदाजनक हुँदैन

7.436k
Shares

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरे राजीनामा दिने अवस्था आउन सक्ने बताउनुभएकाे छ ।

शुक्रबार पोखरामा संचारकर्मीहरुसँग कुराकानी गर्दै उहाँलेे यस्ताे बताउनुभएकाे हाे । दुवै सदनले पारित गरेपछि राष्ट्रपतिले संविधान अनुसार एक पटक फिर्ता गर्ने अधिकार संविधानले दिएको बताउदै उहाँले अब फेरी दुवै सदनले पारित गरेपछि संविधान अनुसार प्रमाणित गर्ने विश्वास समेत व्यक्त गर्नुभएकाे छ।

दोस्रो पटक संविधानले कुनै ठाउँ नै दिएको छैन् त्यसकारण राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गर्नुहुन्छ भन्ने नै लागेकाे उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘हुन त मैले केही दिनअगाडि राष्ट्रपतिसँग भेट गर्दा उहाँचाहिँ यो विषयलाई अलि ठूलै राजनीतिक विषय बनाउने सम्भावना देखेको थिएँ। त्यसकारण नगर्ने सम्भावना पनि छ। त्यसो भयो भने अदालतमा जान्छ यो इस्यु। अदालतको फैसलापछि त्यो अघि बढ्छ। दोस्रो उहाँले राजीनामा दिनुपर्ने स्थिति आउँछ।’

अंगिकृत नागरिकताको विषयमा माओवादीको अग्रसरतामा नै ७ वर्षको प्रावधान राज्य व्यवस्था समितिमा बहुमतले पारित गरिएको भएपनि त्यति बेला सर्वसम्मत हुन नसकेको उहाँले बताउनुभयाे। अहिले गठबन्धनबाट प्रधानमन्त्रीको उम्मेदवार नातोकिने बताउदै प्रधानमन्त्री बारे निर्णय चुनावपछि नै हुने उहाँले बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘मैले त भनेको छु, प्रधानमन्त्रीकै इच्छा गरेको भए म पहिला पनि हुन सक्थे। २०७४ को निर्वाचन लगत्तै पनि पाँचै वर्षका लागि मेरो ढोका खुला थियो। तर मैले बाम गठबन्धनलाई प्राथमिकता दिएर छाडेको हो । अहिले पनि प्रधानमन्त्रीको कुरामा त्यस्तो डिबेट भएको पनि छैन्, गर्नेमा पनि छैन्।’

अहिले पनि आफू प्रधानमन्त्री बन्ने चाहना राख्दा हुने स्थिति भएको उहाँले बताउनुभयाे । तर अहिले नै प्रधानमन्त्री नहुने देश र जनताका लागि पनि फाइदाजनक नहुने उहाँकाे तर्क छ । जसका कारण प्रधानमन्त्री हुने इच्छा नभएकाे उहाँकाे तर्क छ । अहिले प्रधानमन्त्रीको विषयमा गठबन्धनमा पनि कुनै चर्चा नभएको उहाँको दावी छ । गठबन्धनमा आजै सिट बाँडफाँटमा सहमति हुने दावी समेत उहाँले गर्नुभएकाे छ ।