१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


सांसदहरुद्वारा डेंगुको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण


65
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य मिना सुब्बाले डेंगुको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सांसद सुब्बाले उपत्यकामा डेंगुको बिरामी तीब्र गतिमा बढिरहेका बताउनु भयो । उहाँले बिरामीले अस्पतालमा बेड नपाउने अवस्था आउन थालिसकेको भन्दै यसको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य मैनाकुमारी भण्डारीले नेपाली पुरुषसँग विवाह गर्नासाथ विदेशी महिलालाई नागरिकता दिने प्रावधान गलत भएको बताउनु भयो । उहाँले सो प्रावधान लागू भएमा दश वर्षपछि नेपाली वंशज अल्पमतमा पर्ने र आफ्नै देशमा शरणार्थी हुने अवस्था आउने दावी गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य रंगमती शाहीले बैंकमा पैसा नहुने तर व्यक्तिको घरघरमा पैसा भएको भन्दै सम्पती शुद्धिकरण गरेर धेरै भएको सम्पती राज्यको कोषमा जम्मा गर्नुपर्ने बताउनु भयो । उहाँले स्वास्थ्य, शिक्षा र वृद्धको जिम्मेवारी राज्यले लिनुपर्ने बताउनु भयो । सांसद शाहीले आगामी मंसिर ४ गते हुने चुनावमा उम्मेदवारको सम्पती विवरण सार्वजनिक हुनुपर्ने बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार केसीले त्रिभूवन विश्वविद्यालयको सम्बन्धमा नेपाल विद्यार्थी संघले जायज माग उठाएको बताउनु भयो । उहाँले त्रिविबाट प्रश्नपत्र बाहिरिने तथा दोहोरिने जस्ता समस्या हुने गरेको भन्दै यस सम्बन्धमा छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने नेविसंको माग रहेको उल्लेख गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राईले धनकुटा जिल्लाको भेडेटार– पाँचथरको रविराके १०१ किलोमिटर सडकखण्ड निर्माण शुरु भएको पाँच वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएको भन्दै छिटो निर्माण सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।