
एजेन्सी । प्रसिद्ध तमिल पार्श्व गायक बम्बा बक्याको आज शुक्रबार ४९ वर्षको उमेरमा निधन भएको छ ।
बिहीबार साँझ बम्बालाई एक्कासी छटपट भएपछि राति चेन्नईको एक अस्पतालमा भर्ना गरिएको थियो । सोही अस्पतालमा उनको निधन भएको हो ।
उनको मृत्युको कारण भने खुल्न सकेको छैन । तर, केही भारतीय सञ्चार माध्यमले गायकको हृदयघातका कारण मृत्यु भएको बताएका छन् ।
उनले पछिल्लो पटक मणिरत्नमको बहुप्रतिक्षित फिल्म ‘पोन्नियाँ सेल्वान पार्ट १’ को पोन्नी नधि गीत गाएका थिए ।
बम्बाले ‘पुलिंगङ्गल’, ‘सिम्तानगरन’ जस्ता धेरै हिट गीत गाइसकेका छन् । उनी आफ्नो ब्यारिटोन (कम आवाज भएको गायक) को लागि परिचित थिए । उनलाई संगीतकार एआर रहमानले संगीत क्षेत्रमा प्रवेश गराएका थिए । मणिरत्नमको मेगा बजेट फिल्म ‘पोन्नियाँ सेल्भान’ को ‘पोन्नी नधि’ गीत पनि एआर रहमानले कम्पोज गरेका हुन् जसको स्वर बम्बाले दिएका छन् ।
बम्बाको आकस्मिक निधनले सम्पूर्ण तमिल उद्योगलाई स्तब्ध बनाएको छ । यससँगै संगीत जगतलाई अर्को ठूलो धक्का लागेको छ ।
प्रतिक्रिया दिनुहोस्