Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त


0
Shares

काठमाडाैं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ।

सिंहदरबार शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएकाे हाे। प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहनुभएका श्रेष्ठले कार्यकारी निर्देशकको जिम्मेवारी पाउनुभएको छ।

यसअघि सरकारले ल्याएको ‘सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश २०८३’ मार्फत हितेन्द्रदेव शाक्य स्वतः पदमुक्त भएपछि वरिष्ठताका आधारमा श्रेष्ठले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाउनुभएको थियो ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले नेपाली नागरिकता पाँचौं संशोधन नियमावली २०८३ स्वीकृत गर्ने र साविकमा कृषि, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत रहने गरी नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ संशोधन गर्ने निर्णय गरेको छ।

बैठकले सहसचिव रुद्रसिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय समेत गरेको हाे।