Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


अमेरिकाकी प्रसिद्ध गायिका डली पार्टनको निधन

राष्ट्रपति ट्रम्पद्वारा पार्टनको निधनप्रति दुःख व्यक्त

403
Shares

एजेन्सी । अमेरिकाकी प्रसिद्ध गायिका एवं गीतकार डली पार्टनको ८० वर्षको उमेरमा निधन भएको छ।

पार्टनको परिवारले सामाजिक सञ्जालमार्फत उनकाे निधन भएको जानकारी दिएको बीबीसीले जनाएको हाे। सात दशक लामो संगीत यात्रामा पार्टनले १० ग्रामी अवार्ड जितेकी थिइन् । पार्टनले क्यान्सरसँग छोटो समय संघर्ष गरेपछि प्रियजनहरूको उपस्थितिमा नासभिलमा रहेको भान्डरबिल्ट–इन्ग्राम क्यान्सर सेन्टरमा संसार छाेडेको बीबीसीको अमेरिकी साझेदार सीबीएसले जनाएको छ। पार्टनको करिब सात दशक लामो सांगीतिक यात्रामा पार्टनका १० करोड भन्दा बढी रेकर्ड बिक्री भएका थिए ।

साथै पार्टनले ३ हजार भन्दा बढी गीत लेखेकी छन्। पार्टनले आफूलाई गायिकाभन्दा बढी गीतकारका रूपमा चिनाउँदै आएकी थिइन् । उनका गीतले देश संगीतसँगै र्‍याप, रक, मेटल र आर एन्ड बी लगायतका विभिन्न विधामा प्रभाव पारेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पार्टनको निधनप्रति दुःख व्यक्त गर्दै उनलाई अतुलनीय कलाकारका रूपमा स्मरण गर्नुभएको छ । उनको निधनपछि चर्चित कलाकारहरूले श्रद्धाञ्जली दिनुका साथै पार्टनलाई महान् गीतकार, उत्कृष्ट कलाकार र विश्वभर प्रभाव पार्ने संगीतकी आइकनका रूपमा सम्झिएका हुन् ।

पार्टनको संगीत र योगदानले धेरै पुस्ताका श्रोता तथा कलाकारलाई प्रभावित बनाएको छ । पार्टनको जन्म अमेरिका टेनेसीको स्मोकी माउन्टेन्समा गरिब परिवारमा भएको जनाइएकाे छ।