Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


इन्दिरा भन्छिन्– ‘विश्वभरका पप संगीत मर्ज गरेर गीत बनाएको हुँ’

‘म त्यहाँसम्म मुर्ख पनि छैन कि, त्यस्तो चर्चित गीतलाई कपि गरौं’

23.4k
Shares

काठमाडौं । गीत चोरी गरेको आरोप लागेकी गायिका इन्दिरा जोशीले विश्वभरको पप संगीतको संयोजनमा नेपाली गीत बनाएको बताएकी छन् ।

सोमबार राति एक कमेडी शोमा अतिथिको रूपमा पुगेकी इन्दिराले पहिलो पटक यस्तो आरोप लागेको बताइन् । आफूले गीत चोरी नगरेको भन्दै उनले विश्वभर रहेको टेन्ड स्टाइलको रूपमा अर्थाएकी छन् ।

‘हरेक कुराको स्टाइल भएजस्तै म्युजिकको पनि स्टाइल हुन्छ, मैले विश्वभर प्रचलित पप म्युजिकलाई मर्ज गरेर नेपालीमा गीत बनाएकी हुँ,’ उनले भनिन्, ‘यो मात्रै नभएर अन्य गीतहरू पनि यसरी नै बनेका छन्, गीतहरू सुन्दै जादाँ मान्छेलाई थाहा हुन्छ ।’

आफूहरूले अन्तर्राष्ट्रिय साउन्ड मात्र नेपालमा भित्र्याउन खोजेको बताउँदै गायिका जोशीले ‘पछ्यौरी’ गीतलाई एउटा प्रयोगको रूपमा बुझिदिन आग्रह गरेकी छन् ।

‘केही फरक गर्न मन थियो, धेरैले सुझाव पनि दिनुभयो,’ उनले थपिन्, ‘एउटा एक्सपेरिमेन्ट चाहिँ गरेकै हुँ, त्यसैले नयाँ शैलीमा गीत बनाएँ ।’

गीत हुबहु नभएको र गीतमा समावेश संगीतमा ट्रम्पेड प्रयोग नगरेको उनको भनाइ छ । उनले गीतमा सेक्सोफोनको साउन्ड भएको र त्यसलाई सविन कार्कीले बजाएको स्पष्ट पारिन् । गीतमा आफूहरूले प्राविधिक रूपमा एकदमै धेरै मेहनत गरेको उनले बताइन् ।

जोशीको केही दिनअघि सार्वजनिक ‘पछ्यौरी’ बोलको गीत अंग्रेजी गीत ‘टक डर्टी’ गीतसँग मिलेपछि उनीमाथि गीत चोरीको आरोप लागेको छ । गीतको ट्यून सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको आलोचना थालेका छन् ।

यद्यपि टोस र टेक्चर भने एउटै सुनिने उनले स्वीकारिन् ।

‘टोन र टेक्सर चाहिँ एउटै सुनिएको हुनसक्छ,’ उनले अगाडि भनिन्, ‘म त्यहाँसम्म मुर्ख पनि छैन कि, त्यस्तो चर्चित गीतलाई कपि गरौं ।’