काठमाडाैं ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले देशका समस्या र जनताका एजेन्डाको एकताबाट अग्रगामी मोर्चा गठन भएको बताउनुभएको छ ।
शनिवार जनकपुरमा अग्रगामी मोर्चाले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले मोर्चा कुनै व्यक्ति वा शक्तिको स्वार्थबाट नभई देशका विद्यमान समस्या समाधान गर्ने उद्देश्यले गठन गरिएको दाबी गर्नुभएको हो ।
उहाँकाअनुसार मोर्चामा समावेशी नेतृत्वसँगै विभिन्न राजनीतिक आन्दोलन तथा युद्धका अनुभव बोकेका शक्तिहरूको समिश्रण रहेको छ । मोर्चाप्रति कतिपय राजनीतिक नेताहरूले प्रश्न उठाइरहेको उल्लेख गर्दै शर्माले केहीमा मोर्चालाई लिएर ‘आतंक’ पैदा भएको टिप्पणी गर्नुभयो । तर अग्रगामी मोर्चा राष्ट्र निर्माण र राष्ट्रियताको रक्षाका लागि गठन गरिएको उहाँको दाबी छ ।
उहाँले भन्नुभयो, ‘अग्रगामी मोर्चा कसरी र किन बन्यो भन्ने प्रश्न उठिरहेको छ ।
यो मोर्चा हामीले मात्र बनाएको होइन, देशका समस्याले र साझा एजेन्डाको एकाग्रताले बनाएको हो । यो केवल राजनीतिक मोर्चा मात्र होइन, समावेशी नेतृत्वको टिम पनि हो । विभिन्न आन्दोलन र संघर्षका अनुभवहरूको समिश्रणबाट यो मोर्चा निर्माण भएको हो ।
त्यसैले आज कतिपय नेताहरूले यसप्रति प्रश्न उठाए पनि र कतिपयमा यसले भय पैदा गरे पनि यो मोर्चा कुनै व्यक्तिविशेषविरुद्ध होइन। यो राष्ट्र निर्माण, राष्ट्रियताको रक्षा र देशको हितका लागि बनेको हो ।’ उहाँले मोर्चाले विभिन्न आन्दोलनका अनुभवलाई समेट्दै देशका राजनीतिक, सामाजिक तथा आर्थिक समस्या समाधानका लागि नयाँ ढंगले अघि बढ्ने बताउनु भयो ।









प्रतिक्रिया दिनुहोस्