Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


गगन थापा र केपी ओलीबीच भेटवार्ता, राजनीतिक परिस्थितिबारे छलफल


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मधेस प्रदेशको राजनीतिक परिस्थितिबारे छलफल भएको छ ।

भक्तपुरको गुण्डुस्थित ओली निवासमा हिजो भएको भेटमा मधेस प्रदेशको वर्तमान राजनीतिक अवस्था र प्रदेश सरकारको भविष्यबारे कुराकानी भएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन् ।

हाल मधेस प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकार छ । तर, एमालेले गत असोज २५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकारको भविष्य अन्योलमा परेको छ ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा एमालेका २३, कांग्रेसका २२, जसपा नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।

यसअघि एमाले, जसपा नेपाल र जनमत पार्टीबीच नयाँ सरकार गठनका लागि छलफल अघि बढेको थियो । नयाँ सत्ता समीकरण निर्माणको प्रयास भइरहेका बेला कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीबीच भएको भेटलाई मधेस प्रदेशको राजनीतिक समीकरणका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ ।

Skip This