Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत


0
Shares

काठमाडाैं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले अग्रगामी मोर्चा अधिकार, आत्मसम्मान र स्वायत्तताको लडाइँका लागि निर्माण भएकाले यसलाई टिकाएर अघि बढाइने बताउनुभएको छ ।

शनिवार जनकपुरमा अग्रगामी मोर्चाले आयोजना गरेको कार्यक्रममा बोल्दै राउतले विगतका मधेस आन्दोलन, जनयुद्ध तथा अन्य आन्दोलनहरू सम्झौतामै टुंगिँदा जनताका अपेक्षा पूरा हुन नसकेको दाबी गर्नुभएको हो । उहाँले अब अधिकार प्राप्तिका लागि निर्णायक आन्दोलन आवश्यक रहेको बताउनु भयो ।

राउतले मोर्चा केवल नेताहरूको तहमा सीमित नरहने भन्दै गाउँ–गाउँ र वडा–वडामा संगठन विस्तार गर्नुपर्ने बताउनु भयो । पाँच औँला एक ठाउँमा मिल्दा मुठ्ठी बन्ने उदाहरण दिँदै उहाँले अधिकार प्राप्तिका लागि उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायबीच एकता आवश्यक रहेको बताउनु भयो ।

उहाँले मोर्चा सरकार गिराउने वा बनाउने उद्देश्यले मात्र गठन नभएको दाबी गर्दै जनताको अधिकार, आत्मसम्मान र प्राप्त उपलब्धिको रक्षा गर्नु यसको मुख्य उद्देश्य भएको बताउनु भयो । संघीयता, स्वायत्तता र समानुपातिक समावेशिताजस्ता उपलब्धि गुम्न सक्ने खतरा रहेको भन्दै उहाँले त्यसको रक्षाका लागि संगठित हुनुपर्नेमा जोड दिनुभयो । राउतले वर्तमान सरकार मधेसको शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, वैदेशिक रोजगारी तथा सीमावर्ती जनताको सम्मान र सुरक्षाका सवालमा असफल भएको आरोप लगाउनु भयो । उहाँले सरकारको आलोचना गर्दै मधेसका जनताले आफ्ना अधिकारका लागि आफैँ निर्णायक भुमिका खेल्नुपर्ने बताउनु भयो ।

उहाँले विगतमा मधेसका मुद्दा सम्बोधन गर्ने प्रतिवद्धता जनाएका ठूला दलहरूले पर्याप्त काम नगरेको आरोपसमेत लगाउनु भयो । मधेसका समस्या समाधान गर्ने जिम्मेवारी अन्ततः मधेसकेन्द्रित दलहरूकै भएको भन्दै राउतले अन्य दलबाट अधिकार प्राप्त हुने भ्रममा नपर्न आग्रह गर्नुभयो । अग्रगामी मोर्चामा विभिन्न राजनीतिक धार, आन्दोलनका अनुभव र नेतृत्वलाई समेटिएको उल्लेख गर्दै उहाँले मोर्चा टिक्ने दाबी गर्नुभयो ।