
काठमाडौं, फागुन १९ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् ।
उनले प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।
प्रेस संयोजक घर्तीकाअनुसार उपराष्ट्रपति पुनले स्वदेशमा नै मिर्गौला प्रत्यारोपण गरेमा स्वास्थ्य क्षेत्रमा जनताको विश्वास बढ्ने विचार प्रधानमन्त्रीसमक्ष राखेका थिए ।
वि.सं. २०६७ मा उपराष्ट्रपति पुनको पनि मिर्गौलामा समस्या देखिएपछि स्वदेशमा नै उपचार भएको थियो ।
प्रधानमन्त्रीको १३ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीले गत तिहारपछि यता नियमित मिर्गौलाको ‘डायलासिस’ गराउँदै आएका छन् ।
उनको बुधबार मिर्गौला प्रत्यारोपण गरिने तयारी छ । रासस
प्रतिक्रिया दिनुहोस्