६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


प्राकृतिक टावरमा ५० लाख खर्चेर भ्यूटावर

नेपालसहित भारतका विभिन्न भू–भागको दृश्यावलोकन गर्न सकिने

0
Shares

प्रकाश नेपाल
इलाम । सन्दकपूर गाँउपालिका–४ को माबुथाम क्षेत्र लोपउन्मुख चराचुरुङ्गी, वन्यजन्तु र लेकाली जीवनशैलीमा रमाउन सकिने क्षेत्र हो ।

प्राकृतिक टावर झैँ रहेको माबुथाम क्षेत्र पुग्ने जो कोहिले पूरै इलाम जिल्लाको दृश्यावलोकन गर्नसक्छ । माबुथाममा स्थानीय जनप्रतिनिधिको सक्रियतामा कृतिम टावर थपिएपछि जिल्लासँगै तराईका जिल्लाको दृश्यावलोकन पनि गर्न सकिने भएको छ ।

माबुथाममा भ्यूटावर निर्माणको काम २०७४ देखि सुरु भएको हो । गाउँपालिकाले सुुरु गरेको भ्यूटावर निर्माण पछि पर्यटनको माध्यमबाट आर्थिक उन्नति हुने स्थानीय जनप्रतिनिधिको भनाइ छ । यद्यपि सीमित बजेटले गर्दा निर्माण सम्पन्न भएको छैन ।

५ तला अग्लो भ्यू टावर निर्माण सम्पन्न भइनसके पनि निर्माणाधिन टावरमा चढेर रमाउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको स्थानीय पर्यटनकर्मी सिद्धि गुरुङ्ग बताउनुहुन्छ ।

समुन्द्र सतहबाट २ हजार ८ सय मिटर उचाइमा रहेको माबुथाम क्षेत्रबाट नेपाल र भारतका हिमश्रृंखलाहरूको दृश्यमा रमाउन सकिन्छ । सन्दकपूर गाउँपालिका–४ ले ५५ फिट अग्लो भ्यूटावर निर्माणको सुरुवातले ग्रामीण पर्यटन प्रवर्द्धन भइ आयआर्जनमा सहयोग पुग्ने स्थानीयको विश्वास छ ।

१२ रोपनी क्षेत्रफलमा फैलिएको माबुथाम क्षेत्रको भ्यू टावर निर्माणमा हालसम्म २५ लाख खर्च भइसकेको छ । टावर वरिपरि पार्क सडकबाट टावर क्षेत्रसम्म पुग्ने पदमार्ग निर्माणसँगै बाँकी काम सक्न ५० लाख खर्च हुने निर्माण समितिले जनाएको छ ।