नारायणहिटी संग्रहालयमा सबैको अस्तित्व देखिने गरी बनाइएका धरोहरले नागरिक मोहित(भिडियो) « Image Khabar


नारायणहिटी संग्रहालयमा सबैको अस्तित्व देखिने गरी बनाइएका धरोहरले नागरिक मोहित(भिडियो)


169
Shares

गृष्मा राजभण्डारी

काठमाडौं । तात्कालिन नारायणहिटी दरबार जहाँ राजापरिवारका सदस्यहरुले प्रयोग गर्ने हरेक कक्षको नामाकरण नेपालको जिल्लाबाट गरिएको छ ।

४७ वटा जिल्लाबाट नामाकरण गरिएका कक्ष रहेपनि ३० वटा भने प्रयोगमा ल्याइएका छन् । यी मध्ये २ वटा कक्षमा श्रीपेच राखिएका छन् । प्रयोगमा ल्याइएका २० वटा कक्ष अवलोकनका लागि खुल्ला छ ।

नारायणहिटी संग्रहालयको गौरीशंकरद्धारबाट प्रवेश गर्ने बितिकैको कास्की बैठक पुगिन्छ, जहाँ राजकीय भ्रमणमा आउने राष्ट्राध्यक्षलगायत प्रधानमन्त्री र प्रधानन्यायाधिशको शपथ ग्रहण गरिन्थ्यो । म्याग्दी कक्ष विदेशी कुटनीतिज्ञलाई भेट गर्ने ठाउँ थलो हो । यो संगै जोडिएको रोल्पा, पर्वत कक्ष । यी कक्षहरुको आआफ्नै विशेषता छन् ।

आवासीय रुपमा विदेशबाट आएका राजपाहुनालाई आवासको जिम्मेवारी दैलेखले पाएको छ भने प्रथम महिलाको शयन कक्ष बैतडीमा रहेको छ । एकभन्दा बढी पाहुना आएको अवस्थामा अछाम कक्ष पनि शयनमै उपयोग गरिन्थ्यो ।

विदेशी पाहुनालाई खानपान गराउने जिम्मेवारी बाजुरा कक्षले लिएको छ । अनि बाजुराबाट खाना खाएर निस्किएका पाहुना जुम्ला कक्ष पुगेर आराम गर्थे । डोल्पा कक्षको महिमा बेग्लै छ, यो कक्ष राजपरिवारको पदवी खोसिएका र महिनाबारी भएका महिलाले दरबारमा हुने समारोह अवलोकन गर्न उपयोग हुन्थ्यो ।

गोरखा जिल्लाको नामबाट जुराइएको गोरखा बैठक जहाँ राजा महाराजाको राज्याभिषेक लगायत महत्वपूर्ण समारोह गरिन्थे । तनहुँ बिशेष सामारोहमा मन्त्री र राजप्रासादका सदस्यहरु बस्ने कक्ष हो । मुगुमा राजा त्रिभुवनले प्रयोग गर्ने सामान संकलन गरी राखिएको छ ।

लमजुङ राजकीय भ्रमणमा आएको बिदेशी राष्ट्रप्रमुखहरुको रात्रीभोज गर्ने डाइनिङ हल । गुल्मी राजा वीरेन्द्र र पुर्व राजा ज्ञानेन्द्रको निजी कार्यालय रहेको ठाउँ हो । यो हो धादिङ कक्ष । जहाँ पुर्व राजाको आराम गर्ने र फुर्सदमा टीभी हेर्न उपयोग हुन्थ्यो ।

धनकुटा यहाँ पुर्व राजारानीको शयन कक्ष थियो । धनकुटाको आडमा रहेको सिन्धुली जहाँ पुर्व रानीको श्रृंगार कक्ष । यी श्रृंगार सामग्री अहिले पनि पर्खेर बसेको भान पर्छ । सुनसरीमा जनैपुर्णिमाका दिन राजपरिवारका सदश्यहरुको जनै फेरिन्थ्यो ।

सप्तरी पुर्व मुमा बडामहारानी र युवराजको जन्मदिन मनाउने हल । सिरहा जहाँ पुर्व रानीले आफना आफन्तहरुलाई टिका लगाइदिने चलन थियो । धनुषा बैठकमा राजा र राजपरिवारका सदस्यहरुले बडा दर्शैको दिन टीका ग्रहण गर्ने कक्ष थियो ।

राजतन्त्र गएर गणतन्त्र आएपछि पनि नारायणहिटीभित्रको समावेशी नेपाल आफैंमा गौरवगाथा बनेर रहेको छ । सलादजस्तै सवैको अस्तित्व देखिने यो संस्कृति अनुकरण गर्नु आजको आवश्यकता हो ।