Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


नेतृत्व परिवर्तनको दबाब (भिडियाे रिपोर्ट)


0
Shares

काठमाडाैं ।
पुराना दलहरु भित्रको नेतृत्व विवाद यतिबेला निकै पेचिलो बन्दै गएको छ ।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आएको नेपाली कांग्रेसभित्र आफ्नै खाले विवाद चर्किंदा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीमा भने पुराना नेताहरुलाई विस्थापित गर्ने बहस भुसको आगो झैं फैलिंदैछ ।

पुराना नेताहरुले पुस्तान्तरण र नेतृत्व हस्तान्तरणलाई बेवास्ता गरिरहे एमाले र नेकपाभित्र पनि विद्रोह नहोला भन्न सकिंदैन ।

जेनजी आन्दोलनपछि पुराना दलहरुभित्र नेतृत्व परिवर्तनको विषय जोडतोडका साथ उठेको थियो । खासगरी कांग्रेस, एमालेसहितका पुराना दलभित्र यो बहस पेचिलो बनेको थियो । युवा पुस्ताले पार्टीको नेतृत्व मात्र होइन, मुलुकको नेतृत्व गर्नुपर्ने विषय नै जेनजी आन्दोलनको मूल मर्म थियो ।

यो मर्मअनुसार राजनीतिक दलका नेताहरु अघि बढ्न सकेनन् । त्यतिबेला तत्कालीन सरकारको लज्जाजनक बर्हिगमन मात्र भएन वृद्ध नेताहरुको भागाभागसमेत भयो । तर दुनियाँको आँखा अगाडि भागाभाग भएर सेनाले ज्यान जोगाईदिनु परेका पुराना नेताहरु अझै पनि पार्टीमा हालीमुहाली गरिरहने बहानाबाजी गरिरहेका छन् ।

वर्षौंदेखि रजगज गर्ने तर परिणाम दिन नसक्ने पुराना नेताहरुका कारण पुराना दलभित्र यतिबेला किचलो बढेको छ । निर्वाचनको मतपरिणामले नै पुराना नेताहरुको बर्हिगमनलाई सहज बनाइदिएको छ । यो निर्वाचनमा उनीहरुकै कारण कांग्रेस, एमालेसहितका दलहरुको अस्तित्व नै सखाप हुने अवस्थामा पुगेको देखियो । यति हुँदाहुँदै पनि उनीहरुले नेतृत्व छाड्न आनाकानी गरिरहेका छन् । पुस्तान्तरण र नेतृत्व हस्तान्तरणलाई बेवास्ता गर्न थालेपछि पार्टीभित्र विद्रोहका स्वरहरु भने सुनिन थालेको छ । यतिबेला यो विषयमा सबैभन्दा बढी दबाब एमालेभित्र परेको छ ।