Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चले माग्यो विशेष र उच्च अदालतका मिसिल


0
Shares

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै उनीविरुद्धका मुद्दासँग सम्बन्धित प्रमाण मिसिल झिकाउन आदेश दिएको छ ।

बुधबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले भट्टका तर्फबाट उनका बुबा चतुर्भुज भट्टले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट (०८३-WH-००८४) मा यस्तो आदेश गरेको हो । रिटमा विशेष अदालत काठमाडौंसहितलाई विपक्षी बनाइएको छ ।

इजलासले निवेदनमा माग भएअनुसार सर्वोच्च अदालतमा विचाराधीन मुद्दा नं. ०८३-RE-००२१ र ०८३-RE-००२२ का बेरीतको आदेश बदरसम्बन्धी निवेदनलाई समेत प्रस्तुत रिटसँगै लगाउमा राखेर नियमानुसार पेस गर्न आदेश दिएको छ ।

त्यसैगरी, नेपाल सरकार वादी र दीपक भट्टसमेत प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा (०८२-CR-०१५४) को सुरु प्रमाण मिसिल विशेष अदालत काठमाडौंबाट झिकाउन भनिएको छ । उक्त मिसिल पेसीका दिन देखाएर फिर्ता लैजाने गरी उपलब्ध गराउन आदेशमा उल्लेख छ ।

यसैगरी, बैंकिङ कसूरसम्बन्धी मुद्दा (०८२-CB-००४८) को प्रमाण मिसिल उच्च अदालत पाटनबाट झिकाउन पनि सर्वोच्चले आदेश दिएको छ । उक्त मुद्दामा पनि नेपाल सरकार वादी र भट्टसमेत प्रतिवादी रहेका छन् ।

सम्पत्ति शुद्धीकरण र बैंकिङ कसूरको आरोपमा न्यायिक हिरासतमा रहेका भट्टलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै थुनामुक्त गर्न मागसहित उनका बुबाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

Skip This