काठमाडौं । संवैधानिक परिषदले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको छ ।
परिषदको आज बसेको बैठकले डा शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । न्याय परिषदको वैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि योग्यता पुगेका ६ जना न्यायाधीशको नाम सिफारिस गरेकोमा संवैधानिक परिषदको वैठकले डा शर्माको नाम सिफारिस गरेको हो ।
यस अघिसम्म वरिष्ठतम् न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने परम्परा रहेकोमा यस पटक परम्परा तोडिएको छ । न्याय परिषदले सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी र तीलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो । ६ जना मध्ये सपना प्रधान मल्ल वरिष्ठतम् न्यायाधीश हुनुहुन्थ्यो ।
संवैधानिक परिषदको सिफारिस संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई प्रधानन्यायाधीश नियुक्त गर्नुहुनेछ । ३३औं प्रधानन्यायाधीश बन्ने लाइनमा आईपुगेका डा शर्मा २०७६ सालमा सर्वोच्च अदालतको न्यायाधीश बन्नुभएको थियो ।
२०२७ साल असारमा पर्सामा जन्मिएका शर्मा ६ वर्ष पुरै कार्यकाल प्रधानन्यायाधीश रहनु हुनेछ । नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक र भारतको पुणे विश्वविद्यालयमा कानुनमा स्नातकोत्तर गर्नुभएका शर्माले श्रम कानूनमा विद्यावारिधि गर्नुभएको हो ।










प्रतिक्रिया दिनुहोस्