साँघुरा सडकले वीरेन्द्रनगरको ट्राफिक व्यवस्थापनमा चुनौती, स्तरोन्नतिका लागि १३ करोडको ठेक्का « Image Khabar


साँघुरा सडकले वीरेन्द्रनगरको ट्राफिक व्यवस्थापनमा चुनौती, स्तरोन्नतिका लागि १३ करोडको ठेक्का


Border circle
Imagekhabar

मानबहादुर वली
सुर्खेत । प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरको बजार क्षेत्रमा व्यवसाय विस्तार, यातायातका साधन प्रयोगमा भएको वृद्धिले पुरानो सडक साघुँरो भएसँगै सडक स्तरोन्नति गर्न लागिएको छ ।

वीरेन्द्रनगर नगरपालिका, प्रदेश र संघीय सरकारको संयुक्त योजनामा मुख्य बजार क्षेत्रका सडक स्तरोन्नति गरिने भएको हो । मंगलगढीदेखि गणेशचोकसम्मको मुख्य सडक फराकिलो र व्यवस्थित बनाउन लागिएको छ । मुख्य सडक नौ सय ४२ मिटर र बजार क्षेत्रमा अन्य गरी करिब दुई हजार सात सय मिटर सडक विस्तार तथा स्तरोन्नती हुनेछ ।

संघीय सरकारको सडक विभाग, प्रदेशको पूर्वाधार विकास निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकाको त्रिपक्षीय समन्वयमा सडक विस्तार र स्तरोन्नतीको काम सुरू हुन लागेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी दिनुभयो ।

जन नमुना माध्यमिक विद्यालयदेखि रामजानकी मन्दिर र वीरेन्द्रचोकदेखि यरीचोकसम्मका सडक पनि स्तरोन्नति गरिने भएको छ । मंगलगढी–गणेशचोक सडक १३ करोड लगानीमा स्तरोन्नति गर्न लागिएको छ । उक्त सडक १४ मिटर कालोपत्रे हुनेछ ।

एक÷एक मिटर नाली र दुई/दुई मिटर फुटफाथसहित २० मिटर सडक विस्तार गर्न लागिएको हो । नाला माथिबाटै फुटपाथ बनाउन लागिएको छ । संघीय सकारको समेत बजेट जोड्दा २१ करोडको लागतमा वीरेन्द्रनगर बजार क्षेत्रका विभिन्न सडकको स्तरोन्नति हुने नगरप्रमुख सुवेदीले बताउनुभयो ।

पूर्वाधार विकास निर्देशनालयका अनुसार वीरेन्द्रनगर बजारका सडक स्तरोन्नतिका लागि खड्का निर्माण सेवा बाँकेलाई १३ करोडमा ठेक्का पाइसकेको छ । निर्माण सेवाले भदौदेखि कामको सुरूवात गर्ने गरी तयारी भइरहेको छ । चालु आर्थिक वर्षभित्रै सबै कामहरू सक्ने गरी सडक विस्तारको काम अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्