गुल्मीमा निषेधाज्ञा कडा : सवारी र बैंक पूर्ण बन्द, खाद्य पसल तीन दिन तीन घण्टा मात्र खुल्ने « Imagekhabar – Online News Portal of Nepal
२२ श्रावण २०७९, आईतवार | Mon Aug 8 2022


गुल्मीमा निषेधाज्ञा कडा : सवारी र बैंक पूर्ण बन्द, खाद्य पसल तीन दिन तीन घण्टा मात्र खुल्ने


0
Shares

गुल्मी । कोभिड–१९ संक्रमण बढ्दै जान थालेपछि जिल्लामा पुनः कडा किसिमको निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिको शनिबार बसेको बैठकले निषेधाज्ञालाई कडा बनाउँदै साउन ३२ गतेसम्म लम्ब्याएको छ । यस अवधिमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रुद्रावती शर्माले जानकारी दिनुभयो ।

थपिएको निषेधाज्ञामा खाद्य वस्तु बेच्ने पसलहरू स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर साउन २५, २७ र २९ गते बिहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न पाइनेछ । संक्रमण नियन्त्रणका लागि अत्यावश्यक बाहेकका अन्य सबै पसल पनि बन्द गरिने भएको छ । बैंक तथा वित्तीय संस्थाहरु भने पूर्ण बन्द रहने छन् ।

निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि, बोक्ने मालवाहक गाडी पनि साउन २५, २७ र २९ गते मात्रै सञ्चालन गर्न पाउने भएका छन् । निषेधाज्ञामा एम्बुलेन्सबाहेक मोटरसाइकलसहित र सम्पूर्ण सवारी साधनलाई पूर्ण रूपमा रोक लगाइएको छ । अस्पताल र औषधि पसल २४ सैं घण्टा खुला रहनेछन् ।

निषेधाज्ञाको अवधिमा अत्यावश्यक काम बाहेक नागरिकहरू घरबाहिर ननिस्कन आग्रह गरिएको छ । निषेधाज्ञा उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जुनसुकै उपर प्रचलित कानून बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ । गुल्मीमा कोभिडका कारण ९३ जनाको मृत्यु भइसकेको छ ।