२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


जुरे पहिरो गएको सातवर्षः विस्थापितलाई अझै बासकाे चिन्ता, चन्दाबाट संकलित रकम सरकारी खातामै (भिडियोसहित)


0
Shares

किरण थापा
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकस्थित राम्चेको सिमानामा पर्ने जुरेमा पहिरो खसेको सात बर्ष बित्यो । तर, पहीरो प्रभावितहरुको पिडा भने अहिले पनि आलै छ । उनीहरुको बसोबासको अझै पनि ठेगान लाग्न नसक्दा कष्ठकर जीवन विताउन बाध्य छन ।

सात वर्षअघि साविकको मांखा र राम्चे गाविसको बीचमा रहेको जुरेमा पहाडै खस्दा सुनकोसी नदी थुनिएको थियो । यहि ठाउँमा १ सय ४५ जनाले ज्यान गुमाएका थिए । १ सय ९९ घरमा क्षति पुगेको थियो । जुरे पहिरोले गाँउको नामनिशान नै मेटाएको थियो । मर्ने मरेर गए तर, आफन्तहरु गुमाउनुको पीडा त बाँच्नेहरुले अझै पनि भोगि रहेका छन् । आफन्तको शवसम्म देख्न नपाउँदा र भएको बास बस्ने घर, गुजारा चलाउने खेतीपनि नहँदा धेरै पहिरोपीडित बिस्थापित भएका छन् । तर यतिका वर्ष बितिसक्दा पनि अहिलेसम्म पुनर्वासको कुनै अत्तोपत्तो नभएको गुनासो गर्नु हुन्छ बिस्थापित उर्मिला कार्की ।

स्थानीय प्रशासनले पीडितको लगत संकलनको लागि एउटा टोली बनाएको थियो । त्यो टोलीले सबै पीडितको लगत संकलन गरी प्रतिवेदन त बुझायो । तर त्यो प्रतिवेदनप्रति जनप्रतिनिधिहरुले वेवास्ता गर्दा समस्या ज्यूँकात्यूँ भएको उनीहरुको गुनासो छ । अझैपनि पुर्न स्थापना र राहत उपलब्ध नहुनु दुखद भएको स्थानीय बलराम श्रेष्ठको भनाई छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितीको खातामा जुरे पहिरो प्रभावीतको लागि भनेर आएको २ करोड २४ लाख रुपैया हालसम्म पनि प्रभावितले पाउन सकेका छैनन । पिडित पहिचान गरेर सरकारी सेवाबाट बन्चित नगरीने र प्रभावितहरुलाई छिटै स्थापित गर्ने बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल ।

पटक पटकको पहिरोको काराण यहाँका बासिन्दाको रातमा निन्द्रा पर्न सकेको छैन् । त्यसैले अबको विकास निर्माण प्रकृति मैत्री हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् । वस्ती, सडक, विद्युत, कलकारखाना कहाँ खोल्दा उपयुक्त हुन्छ प्राविधिक अध्ययन गरी निर्माण गर्न सके मात्र यस्ता विपत्तिबाट जन र धन दुवै जोगाउन सकीने बिश्वास गर्न सकिन्छ ।