जनक बोहरा, बाजुरा । बाजुरामा परम्परागत भेडा तथा बाख्रापालन व्यवसायलाई व्यावसायिक रूपमा विस्तार गर्ने लक्ष्यसहित करिब पाँच अर्ब रुपैयाँको बृहत् कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ।
सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य नरेशकुमार शाहीको पहलमा अघि बढाइएको कार्यक्रमले जिल्लाको पशुपालन क्षेत्रलाई व्यवस्थित बनाउँदै किसानको आम्दानी र रोजगारीका अवसर बढाउने लक्ष्य राखेको छ।
कार्यक्रम बाजुराका स्वामीकार्तिक खापर, हिमाली र जगन्नाथ गाउँपालिका तथा बुढीनन्दा नगरपालिकामा लागू गर्ने तयारी छ। यसमार्फत भेडा तथा बाख्रापालनमा संलग्न किसानलाई आर्थिक अनुदान, प्राविधिक सहयोग, पशु स्वास्थ्य सेवा, बीमा र बजारको पहुँच उपलब्ध गराउने योजना छ।
कार्यक्रमको कार्यान्वयन प्रक्रिया र सम्भावनाबारे बिहीबार जगन्नाथ, हिमाली र स्वामीकार्तिक खापर गाउँपालिकामा सरोकारवालासँग छलफल गरिएको छ। छलफलमा पूर्वमन्त्री शाही, एसियाली विकास बैंक ९एडीबी०, विकास साझेदार संस्था, सरकारी निकाय, निजी क्षेत्र, पश्मिना उद्योग तथा मासु व्यवसायसँग सम्बन्धित प्रतिनिधिहरू सहभागी थिए।
प्रस्तावित कार्यक्रमको प्रमुख पक्ष पशुपालक किसानले उत्पादन गरेका वस्तुको बजार सुनिश्चित गर्नु हो। किसानले उत्पादन गरेको ऊन खरिद गर्ने, भेडाको मासु संकलन तथा बिक्री वितरण गर्ने र पशुजन्य मलको समेत उपयोग तथा बजारीकरण गर्ने योजना अघि सारिएको छ।
त्यसैगरी, पशुधनमा रोग तथा अन्य कारणले हुन सक्ने क्षति न्यूनीकरण गर्न पशु उपचार सेवा र बीमाको व्यवस्था गर्ने लक्ष्य राखिएको छ। यसले पशुपालनमा लगानी गर्न चाहने किसानलाई प्रोत्साहित गर्नुका साथै व्यवसायमा देखिएका जोखिम कम गर्ने अपेक्षा गरिएको छ।
बाजुरामा पर्याप्त चरन क्षेत्र, अनुकूल भौगोलिक बनावट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको पशुपालनसम्बन्धी सीप तथा अनुभव रहे पनि किसानले यसबाट पर्याप्त लाभ लिन सकेका छैनन्। ऊनको व्यावसायिक उपयोग, मासुको व्यवस्थित बिक्री र उत्पादनको उचित मूल्य नपाउँदा पशुपालन व्यवसाय अपेक्षित रूपमा विस्तार हुन नसकेको अवस्था छ।
प्रस्तावित कार्यक्रमले उत्पादनदेखि संकलन, प्रशोधन र बजारीकरणसम्मका गतिविधिलाई एउटै प्रणालीमा आबद्ध गर्ने लक्ष्य राखेको छ। विशेषगरी पश्मिना उद्योग तथा मासु बजारसँगको सहकार्यले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
चार वर्षदेखि कार्यक्रम कार्यान्वयनका लागि पहल गर्दै आउनुभएका शाहीले बाजुरालाई पशुपालनको सम्भावनायुक्त जिल्लाका रूपमा विकास गर्ने अवधारणा अघि सार्नुभएको हो।
करिब पाँच अर्ब रुपैयाँको प्रस्तावित लगानीमा सञ्चालन हुने कार्यक्रम सफल बनाउन लगानीको सुनिश्चितता, पारदर्शी अनुदान वितरण, किसानको सक्रिय सहभागिता र उत्पादनको दिगो बजार व्यवस्थापनलाई महत्त्वपूर्ण मानिएको छ।
कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन सके बाजुराको परम्परागत भेडा तथा बाख्रापालन व्यवसायलाई व्यावसायिक उद्यममा रूपान्तरण गर्दै स्थानीय अर्थतन्त्र बलियो बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।









प्रतिक्रिया दिनुहोस्