प्रिय रामजी राम: तिम्रो संघर्ष, दु:खमा शब्द मार्फत ऎक्यवद्धता « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


प्रिय रामजी राम: तिम्रो संघर्ष, दु:खमा शब्द मार्फत ऎक्यवद्धता

तिम्रो संघर्ष, दुखमा शब्द मार्फत ऎक्यवद्धता

598
Shares

सन्जिव कार्की 

तिम्रो सकस र मर्का यो राज्यको खासै सरोकारको विषय भित्र पर्दैन । किनकि संविधानका चिसा अक्षर र विधानको ठेलीमा थोरै दयाको भिखको रूपमा आरक्षणको व्यवस्था गरिदिए पछि राज्यले आफ्नो मुल कर्तव्य निर्वाह गरेको भनिठान्छ र ऊ  चुपचाप बस्छ । मानौं आरक्षणरुपी भिक्षा दिनु नै यावत जिम्मेवारी सम्पन्न गरेको उसको मान्यता रह्न्छ । एउटा सीमान्तकृत गरिबको छोराछोरीको समस्या र पिर मर्का राज्यको निरन्तर बुझ्ने कर्तव्य होइन । यसर्थ तिमीले आज जुन आर्थिक समस्या र मानवीय समस्या झेलेका छौ यो नितान्त तिम्रो मात्रै समस्या होइन आम सर्वसाधारण मान्छेको वर्गीय समस्या हो । तिम्रो हकमा वर्गीय समस्या मात्रै होइन जातीय समस्या पनि हो जुन निरन्तर हजारौं वर्ष देखि चली आएको छ र उच्च वर्ग र तिनको दृष्टिमा सामान्य समस्या मात्रै हो । त्यो मात्रै पनि होइन तिमी श्याम वर्णका मधेस तिर जन्म संयोग भएका मान्छे हौ । कालो अनुहार तिम्रो दुर्गुण हो भनेर बुझ्ने अहंकारी सोच र प्रवृति हेपाहापन पनि राज्यसँग विध्यमान छ । त्यसैले तिमी र तिमी जस्ता मान्छेहरु प्रतडनामा बाँच्न विवश छौ ।  केही मान्छे र तिनको भेजाले यसलाई समस्याको रूपमा स्विकार गर्न अन्कनाउँछ । रामजी राम जस्तै अरु विद्यार्थी र तिनको हालत आज पनि कसैलाई बोल्ने र लेख्ने मुद्दा बन्दैन । धेरै बौद्धिकहरुको  मौनता र उदासिनताले आश्चर्यको सिमा नाघ्यो ।

आदरणीय,बौद्धिक र प्राज्ञिक वर्गहरु !

दलितहरूको पिडा बेदना अपमानमा तपाईहरुको मौनता र उदासिनताले आश्चर्यको सिमा नाघ्यो । अझ केही बौद्धिक जन त दलित माथि भैरहेको विभेद र दलनलाई स्वभाविक समाजको गति र मतिसँग तुलना गरेर दलितको मर्कालाई निर्मम प्रहार र प्रतिवाद गर्न उक्साउदै गरेको पाइन्छ । केही भने अत्यन्तै मौनता साँधेर बसेका छन् मानौं ध्यानस्त छन् । सांसरिक गतिविधिसँग बेखबर छन् । खै किन हो ? बौद्धिक र प्राज्ञिक वर्गलाई जातीय छुवाछूत र भेदले छोएन । कतै चिमोटन सकेन । गरिबका पिडाले पोलेन । मानौं यी सब मामुली, प्राणीका मामुली आत्मासम्मान र मामुली मर्यादाका कुरा मात्रै हुन् । विशिस्ट मान्छेका मर्यादा र आत्मासम्मानका विषय होइनन् । 

 यस्ता मामुली अमर्यादित व्यबहार र मामुली मान्छेका अझ मान्छेको श्रेणी भन्दा तल राखिएका मान्छेको मामुली मृत्युुका कुरामा समय दिने फुर्सद उनीहरूका लागि छैन।

दलितको सबालमा बोल्ने र सरोकार राख्ने काम उनीहरूको होइन । दोश्रो दर्जा अर्थात पशु भन्दा तल्लो श्रेणीका मान्छेको बारेमा तिनका मानवीय समस्यामा बोल्ने चासो उनीहरूको कर्तव्य भित्र पर्दैन,होइन 

। 

यही हो शिक्षा ,बौद्धिकता ,विवेक, मर्यादा र नैतिकता आम बौद्धिक र प्राज्ञिक दर्ज्यानी चिन्ह पाएका सुकिला मान्छेहरुको ? 

कृपया उत्तर दिनुस् । दलित दलन थेग्न कै लागि जन्मेका मामुली रैती मात्रै हुन त ? 

खुनी अनुहार, विभेदी व्यबहार र अमानवीय कार्य हो, मेडिकल स्टुडेन्ट रामजी रामको निष्काशन l एउटा गरिब दलितको छोराले बल्ल बल्ल डाक्टर पढन छात्रवृत्ति पाउँछ तर समय क्रममा विविध शुल्क र सेवाको कारण देखाएर शुल्क असुल गर्न ताकेता गरिन्छ ऊ चन्दा उठाएर, अनेकन ठाउँमा हात पसारेर पनि कलेजले तोकेको अतिरिक्त शुल्क बुझाउँछ तर बिभिन्न बहानामा ऊसँग रकम असुली गर्ने धन्दा कलेज रोक्दैन बरु उसको परिक्षा रोकिन्छ, परिक्षा फर्म भर्न बन्चित गरिन्छ । उसको पढ्ने हक खोसिन्छ l एउटा विद्यार्थीको लागि पढ्ने  सवालमा बारम्बार पाउने टर्चर कति घातक हुन्छ त्यो माथि पनि संवेदनशील मेडिकल साइन्सको पढाई ? खै राज्य र सरोकारवाला निकायको ध्यान ? संवेदनशील मामिलामा किन संवेदनशील जिम्मेवारी बहन गर्दैन राज्य र राज्यका विभिन्न निकाय ? गरिब दलित विद्यार्थी जसलाई राज्यले निशुल्क पढ़ाउने प्रतिबद्दता सहित छात्रवृत्ति दिएको हो तर त्यो छात्रवृति सरकारी कर्मकाण्डमा सिमित बन्छ l ऊ पैसा तिर्न नसकेको भनेर प्रताडित बन्छ, अपमानित गरिन्छ उसको पढ्ने लेख्ने समयको बर्बादी हुन्छ l कसरी आर्थिक जोहो गरेर कलेजको पढाइ सक्ने मानसिक तनाव झेलाइन्छ l यो सब हर्कत कसले गर्छ ? यो देशको सत्ताको धाप पाउने ब्यबसायीले गर्छ ऊ ब्यबसायी मात्र होइन सत्तासीन पार्टीको नेता पनि हो l तर उसको धर्म,कर्म, सेवा सबै भनेको जसरी पनि पैसा कमाउनु हो l अस्पताल र मेडिकल कलेज खोलेर कम जोखिममा ब्यापार गर्नु हो जसको लागि राज्यका उच्च पदस्त प्रधानमन्त्री समेतको धाप स्याबासी र लुट्न सहज वातावरण पाउने व्यवस्था राज्यले सहज प्रदान गरेको छ  ।

यस्तो कुकर्मको भागिदार त्यो मेडिकल कलेजको ब्यापारी मात्रै होइन उसलाई प्रेरित गर्ने र नाजायज संरक्षणको सुरक्षा दिने , सत्ता र शक्तिको गलत निति र नियति पनि हो । यसर्थ अपराधको भागिदार ती कथित नीतिनिर्माता पनि हुन । अबोध विद्यार्थीमाथी शोषण गर्ने नीतिनिर्माता समेत कानुन र सजायको कठघरामा आउनु पर्छ । विभिन्न बहानामा पटकपटक थुप्रै पटक विद्यार्थी लुट्ने, बिरामीलाई सक्दो रकम असुल गर्न बाध्य पार्ने  अस्पताल र यसका मालिकको खातिर दारिमा किन लाग्छ राज्य संयन्त्र ? किनकि ऊ अस्पताल र कलेजको मालिक हो l उसले अस्पताल र कलेज जोगी हुन खोलेको पनि होइन l कलेज र अस्पतालको लाइसेन्स लिदा उसले पनि यो देसको सरकारलाई कम, तर पार्टी र तिनका नेतालाई करोडौ रकम राजस्व तिरेको छ तसर्थ उसलाई अकुत लुट्ने छूट छ । ऊ लुट्ने सामर्थ्य बोकेको पात्र र प्रवृति हो l छात्रवृत्तिमा सरकारले पढन पठाएको एक गरिब जेहेन्दार विद्यार्थीलाई पनि आँसु ,रगत,पसिना, पिप निस्कुन्जेल निचोरेर पैसा असुल उपर गर्नु उसको कर्तव्य हो l त्यस्ता महान समाजसेवी, राजनीतिकर्मी र ब्यापारी अरु कोही नभएर नेशनल मेडिकल कलेजका संचालक बसुरुद्दीन अन्सारी हुन l जो संबिधान सभाका उमेद्वार, बिरगंजका मेयर उमेद्वार र नेकपाका एमालेका नेता हुन l

उनको यो हर्कतले सरकार लज्जित बन्दैन , उनको दल नेकपा एमालेलाई लज्जित बन्नु पर्दैन, उनको बिद्यार्थी संगठन अनेरास्ववियु लज्जित बन्दैन त्यो ठिकै थियो तर बिपक्षी कांग्रेस लगायत अरु दल र तिनका विद्यार्थी संगठन समेत लाज मान्दैनन् जुन अत्यन्तै बिडम्बना हो ।  बिडम्बना लज्जित त्यही रामजी राम बन्नुपर्छ किनकी ऊ सिमान्तकृत गरिब हो l पहुँच विहिन नेपालीको प्रतिनिधि पात्र हो l दलित समुदायको व्यक्ति हो l एक अभागी नेपाली हो, जसले राज्यले ओढाउने संरक्षणको छाता पनि नपाएर अमनवियताको झरीमा निरन्तर रुझिरहेछ भिजिरहेछ l अपमान र अपहेलनाको चर्को घामले डढीरहेछ l  यतिबेला सरकारलाई पार्टीलाई के गुनासो गर्नु मेरो देशलाई सन्चो छैन , सरकार कोमामा छ ।  पार्टीहरु देस बचाउन रगतको पोका खोज्न ब्लड बैंक र अस्पतालमा लामबद्ध छन् l रामजीरामहरू अभिशप्त विगत , अभिशप्त वर्तमान र अभिशप्त भविष्य लिएर बाँच्ने नियति लिएर जन्मेका हुन् l यिनका दुखले नछुनु भनेको मान्छे नहुनु हो । 

बिरगंज नेशनल मेडिकल कलेजको पटकपटकको हर्कत र गलत रवैया अवैध रकम असुली गर्ने र विद्यार्थीलाई दुख दिने पिटने न्यायीक आवाज बोल्ने विद्यार्थीलाई गुन्डाकाे सहायताले धम्काउने अश्लील गाली गर्ने घटना धेरै पटक देखिएको सुनिएको छ जुन खेद जनक छ । जसको राज्यले निगरानी गर्ने र अराजक गतिविधि प्रति कारबाही गर्नुपर्ने हो तर त्रिभुवन विश्वविद्यालय आइओएम निरीह र कमजोर देखिने गरेको छ । गलत गतिविधि र अबैध धन्दा गर्ने कलेजलाई सम्बन्धन खारेज सम्मको अधिकार प्राप्त निकाय सामान्य चेतावनी सतर्कता र ध्यानाकर्षण गराउन समेत चुकेको देख्दा सत्ता र प्रधानमन्त्रीको लाचार छाँयाको रूपमा आइओएमको नेतृत्व र राष्ट्रिय चिकित्सा आयोगको नेतृत्व  रहेको बुझ्न कठिन छैन । सार्वजनिक  सरकारी अस्पताल र मेडिकल कलेजलाई धरासयी बनाएर निजि अस्पताल र मेडिकल कलेज पोस्न सरकार कसरी लागी परेको छ त्यसको नग्न रुप धरान स्थित विपी कोइराला मेडिकल कलेजको अवस्था नियाले पुग्छ । सरकारी स्वामित्वमा रहेको सँस्था कमजोर पारेर निजि स्वामित्वको संस्था प्रति उत्तरदायी बन्ने सरकारको निति रहेपछि रामजी राम र पंकज राम जस्ता विद्यार्थीको हालत पीडादायी हुनु अनौठो भएन ।

प्रिय रामजी ,

नेपालमा गरिबमारा र तिनको रगत चुस्ने मान्छेहरु मात्रै छैनन् । तिमी जस्ता हजारौं विद्यार्थी गरिब विपन्न र पहुँच विहिनहरुको पक्षमा बोल्ने र आवाज उठाउने मान्छेहरु पनि छन् । त्यसैले तिम्रो पक्षमा तिमी प्रति भै रहेको अन्यायको विरोधमा माइतीघरमा प्रदर्शन हुने गरेको छ । न्यायको आवाज बोल्ने मान्छेहरु थोरै होलान् तर छन् । त्यसैले न्यायको दीप निभ्दैन बलिरह्न्छ । न्यायको दीपमा थोपा थोपा तेल थप्ने मान्छे पनि छन् । राज्यले न्यायिक आवाज श्रवण गर्ने शक्ति गुमाउदा त्यो आवाज राज्यको कान फुटने गरि चिच्याउने मान्छेहरुको पहल कदमीको कारण नै तिमीहरूले ढिलो भए नि न्याय पाउछौ र पाउदै आएका छौ । यो पटक पनि तिमीले फर्म भर्ने र जाँच दिने मौका पायौ । त्यो राम्रा मान्छेहरुले राखेको सरोकारले हो तसर्थ तिम्रो पनि जिम्मेवारी यो माटाे प्रति धेरै छ । तिमीले मेडिकल स्टुडेन्ट हुनुको नाताले विभिन्न समयमा विभिन्न समाजउपयोगी काम गरेका छौ त्यसलाई निरन्तरता अझै दिनु । तमाम रामजी राम जस्ता दुख आपद असहजता झेलीरहेका न्याय र समता,मर्यादा पर्खिरहेका मान्छेहरुप्रति समर्पित गर्दै शुभेच्छा र आशीर्वाद सहित बिदा चाहन्छु । 

तिम्रो न्यायिक संघर्षको सहयात्री 

सन्जिव कार्की