
काठमाडौं, कात्तिक ८ । लामो समयदेखि पक्षघातबाट पीडित नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी वाइबी घलेलाई आर्थिक सहयोग गरिएको छ ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपीए) युके च्याप्टरले घलेलाई सहयोग गरेको हो ।
शुक्रबार राजधानीमा एक कार्यक्रम गरी एनएनआइपीए युके च्याप्टरका अध्यक्ष एवं पूर्वराष्ट्रिय बक्सिङ खेलाडी सिद्धार्थविक्रम क्षेत्रीको पहलमा संकलित दुई लाख रुपैयाँ घलेलाई हस्तान्तरण गरिएको छ ।
११ वर्षदेखि पक्षघातबाट पीडित घलेले सन् १९८२ को एसियाली खेलकुदमा कुवेतविरुद्ध गोल गरेर कीर्तिमान रचेका थिए ।
३७ वर्षयता कुवेतविरुद्ध अर्को कुनै नेपाली खेलाडीले पनि गोल गर्न सकेको छैन ।
एनएनआइपीएले यसअघि पनि दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता कृष्णमान मानन्धर, इन्द्र रानामगर, एसियाली खेलकुदका पदक विजेता दीपक महर्जन, बक्सिङ खेलाडी मन्जुजंग शाहीलगायतलाई सहयोग गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्