
काठमाडौं, असोज २० । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी पराजित भएको छ ।
आइतबार राति भएको खेलमा सनसनीपूर्ण नतिजा निकाल्नेक्रममा सिटीलाई ओल्भेसले २–० ले पराजित गरेको हो ।
ओल्भेसका तर्फबाट दुवै गोल अड्मा ट्राओरेले गरेका थिए । उनले खेलको अन्तिम १० मिनेटभित्र २ गोल गरेका हुन् ।
हारसँगै सिटी ८ खेलबाट १६ अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट २४ अंक जोडेको लिभरपुल पहिलो स्थानमा छ । ओल्भेस समान खेलबाटै १० अंकसहित ११औं स्थानमा छ ।
आइतबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड पनि पराजित भएको छ । न्यूकासल युनाइटेडले म्यानयुलाई १–० हराएको हो ।
न्यूकासललाई जित दिलाउन म्याथु लङस्टाफले निर्णायक गोल गरे । उनले खेलको ७२औं मिनेटमा गोल गरेका थिए ।
हारसँगै ८ खेलबाट ९ अंक जोडेको म्यानयु १२औं स्थानमा छ । न्यूकासल समान खेलबाटै ८ अंक जोड्दै १६औं स्थानमा रहेको छ ।
आइतबार राति नै भएका अरु खेलमा चेल्सी र आर्सनल विजयी भएका छन् ।
चेल्सीले साउथह्याम्पटनलाई ४–१ ले पराजित गर्यो । यस्तै, आर्सनलले बर्नमाउथलाई १–० ले हरायो ।
यी खेलहरुपछि चेल्सी ८ खेलबाट १४ अंक जोड्दै अंकतालिकाको पाँचौं स्थानमा र आर्सनल समान खेलबाटै १५ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्