२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


त्रिविको परीक्षा केन्द्रमा सीसीक्यामरा जोड्न निर्देशन, पाठ्यक्रम सुधार्न शिक्षाविद्को जोड


0
Shares

दिपेन्द्र अधिकारी
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले नियमित परीक्षालाई थप विश्वसनीय र व्यवस्थित बनाउन तथा परीक्षा हललाई टाढैबाट निरीक्षण गर्न सीसीक्यामेरा जडान गर्न निर्देशन दिएको छ ।

कार्यालयले वार्षिक परीक्षा प्रणाली अन्तर्गतका सम्पूर्ण परीक्षा केन्द्रहरूलाई आगामी चैत्र २० गते भित्रै परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य आउने गरी कम्तीमा डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने गरी सीसीक्यामरा जडान गर्न निर्देशन दिइएको छ ।

सीसीक्यामरा जडान नगरी परीक्षा सञ्चालन गर्ने परीक्षा केन्द्रलाई आगामी परीक्षाका लागि परीक्षा केन्द्रबाट बञ्चित गर्ने त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले निर्णय गरेको छ । ५ लाख हाराहारीमा विद्यार्थी अध्ययनरत रहेको त्रिभुवन विश्विद्यालयको देशभर २ सयभन्दा बढी परीक्षा केन्द्र छन् ।

सूचना प्रविधिमा आएको परिवर्तनसँगै परीक्षामा अमर्यादित क्रियाकलाप फरक ढङ्गले हुने गरेको छ । परीक्षा प्रणलीमा हुने गरेका त्रुटीलाई कम गर्न सीसीक्यामरा अनिवार्य गर्न लागिएको सह परीक्षा नियन्त्रक डा. घनश्याम ठाकुर बताउनुहुन्छ ।

यद्यपि असहज भएको अवस्थामा भने आगामी बैठकबाट अर्को निर्णय लिने पनि पनिकाले जनाएको छ । परीक्षा प्रणलीमा सुधार गरेर मात्रै विद्यार्थीमा शैक्षिक उपलब्धी हासिल नहुने हुँदा विद्यार्थीलाई कक्षामा आकर्षित गर्न सक्नुपर्नेमा शिक्षाविद् डा. गोपाल पाण्डे सुझाउनुहुन्छ ।

परीक्षामा हुने अमर्यादित क्रियाकलाप रोक्न विश्वविद्यालयले ध्यान दिनु जरुरी छ । त्रिभुवन विश्वविद्यालयमा पठनपाठनको जिम्मा एउटा निकायले लिने र परीक्षाको जिम्मा अर्को निकायले लिने गर्दा पनि समस्या आइरहेकाले एकरुपता हुनुपर्नेमा शिक्षाविद्हरूले जोड दिँदै आएका छन् ।