काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश भूराजनीतिक द्वन्द्वमा धकेलिने जोखिम बढ्दै गएको बताउनुभएकाे छ।
गत वर्ष भदौ २४ गते भएको आगजनी र मानवीय तथा भौतिक संरचनाको क्षति भएको एक वर्ष पुगेको सन्दर्भमा अध्यक्ष ओलीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे बताउनुभएकाे हाे। सामाजिक सद्भाव, सहिष्णुता र असल संस्कारलाई भत्काएर अराजकता, हिंसा र विद्वेषलाई बढावा दिने काम राज्यबाटै भइरहेको एमालेको आरोप लगाउनुभएकाे छ। लोकतान्त्रिक कोर्सलाई उल्ट्याउने र मुलुकलाई सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्वको खेलमैदान बनाउने गत वर्ष भदौबाट तीव्र बनेको प्रक्रिया अझै नटुंगिएको उहाँकाे ठहर छ।
लोकतन्त्र स्थापनाका लागि जन्मिएका, आजीवन त्यसका लागि लडेका र लोकतन्त्र स्थापित गर्न निर्णायक भूमिका खेलेका पार्टी र तिनका नेतृत्वविरुद्ध प्रतिशोध, घृणा र निषेधको अभियान चलाइएको उहाँले बताउनुभएकाे हाे । राष्ट्रपति संस्था, संसद्, न्यायालय, नागरिक समाज र लोकतन्त्रका आधारस्तम्भहरूको मानमर्दन गर्ने सिलसिला तीव्र पारिएको विज्ञप्तिमा उल्लेख गरिएकाे छ। सरकारले संविधानका आधारभूत संरचनालाई समाप्त पार्ने धृष्टता गरेकाे र नागरिकका मौलिक हकमाथि आक्रमण तीव्र पार्दै सर्वसत्तावादको अभ्यास गरिरहेकाे एमालेकाे आराेप लगाएकाे हाे। जसले मुलुकलाई पश्चगमन र अलोकतान्त्रिक बाटोतिर धकेल्ने योजनाबद्ध प्रयास जारी रहेको स्पष्ट पारेकोअध्यक्ष ओलीको निष्कर्ष छ ।
विध्वंशले थला परेको अर्थतन्त्र तंग्रिन नसकेको र व्यवसायीहरूको मनोबल इतिहासकै न्यून बिन्दुमा झरेको जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ। यस्तो अवस्थामा लोकतन्त्र, संविधान, राष्ट्रिय हित एवं स्वाभिमानको रक्षा एवं शान्तिका लागि सबै देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र वामपन्थी शक्ति तथा व्यक्तिहरू नयाँ उचाइका साथ सक्रिय हुनु अपरिहार्य रहेकाे एमालेले जनाएकाे हाे। “हामी यस दिशामा सहकार्यका साथअगाडि बढ्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछौं जारी विज्ञप्ति भनिएकाे छ।”












प्रतिक्रिया दिनुहोस्