Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक


0
Shares

काठमाडाैं । शिक्षक आन्दोलनको इतिहास, संगठन निर्माण र विभिन्न चरणमा भएका संघर्षलाई समेटेर तयार पारिएको पुस्तक ‘शिक्षक आन्दोलनको इतिहास’ सार्वजनिक गरिएको छ ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले लेख्नुभएको पुस्तक शनिवार काठमाडांैमा एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो । पुस्तकले २००७ सालदेखि शुरु भएका शिक्षक संगठनको विकासक्रमदेखि २०३६ सालपछि संगठित रूपमा अघि बढेको शिक्षक आन्दोलन र हालसम्मका गतिविधिलाई अभिलेखका रूपमा प्रश्तुत गरेको छ ।

कार्यक्रममा अध्यक्ष सुवेदीले शिक्षक आन्दोलनको इतिहास लामो समयसम्म व्यवस्थित रूपमा दस्तावेजीकरण हुन नसकेको बताउनुभयो । उहाँका अनुसार नेपालमा शिक्षक संगठनहरू २००७ सालदेखि गठन हुन थालेका थिए भने २०३६ सालदेखि संगठित रूपमा शिक्षक आन्दोलन अगाडी बढेको थियो ।

छरिएर रहेर बसेको शिक्षक आन्लोदनको इतिहासलाई आफूले अभिलेखीकरण गरेको उहाँले जानकारी दिनुभयो । कीर्तिपुरस्थित केन्द्रीय पुस्तकालयमा रहेका पुराना पत्रपत्रिका, गोरखापत्र, विभिन्न संगठनका स्मारिका तथा अन्य ऐतिहासिक सामग्री अध्ययन गरेर पुस्तक तयार पारेको उहाँले जानकारी दिनुभयो । शिक्षक आन्दोलनसँग जोडिएका पुराना नेताहरूसँग अन्तर्वार्ता लिएर समेत सामग्री संकलन गरिएको उहाँको भनाई छ । इतिहास लेख्दा व्यक्तिगत प्रतिष्ठाभन्दा तथ्य र आधिकारिकतालाई प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

पुस्तकमा आधिकारिक रूपमा प्रमाणित भएका तथ्य मात्र समेटिएको र छुटेका विषय प्रमाणित भएमा आगामी संस्करणमा समावेश गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्म दस्तावेजीकरण भएको रहेनछ । अब यो ३६ सालदेखि सङ्गठित आन्दोलन सुरु भो । सङ्गठनहरू ७ सालबाट सुरु भए, तर ३६ सालदेखि ८३ सालसम्म आउँदा यसको अभिलेखीकरण नहुनु त हामी सबैका लागि पीडाको कुरा हो । दस्तावेजीकरण गर्दा रहेनछौँ । इन्स्टिच्युसनल मेमोरी हाम्रो रहेनछ, यो खोज्न यति गाह्रो प¥यो कीर्तिपुरको सेन्ट्रल लाइब्रेरीमा कति दिन पत्रिका पल्टाएर, गोरखापत्र, पुराना पत्रिका पल्टाएँ । दुःखको के कुरा भने त्यहाँ पक्कै जानेबुझेकै मान्छे पढ्न जान्छ, तर बीच–बीचबाट काटेर लिएर गएको छ, त्यो पत्रिका । मलाई साह्रै दुःख लाग्यो । एउटा बौद्धिक मान्छेले त्यस्तो गर्नु हुँदैन । विभिन्न सँगसँगै भएका स्मारिकाहरू, सङ्गठनसँग भएका स्मारिकाहरू, अरू स्मारिकाहरू खोजेँ । पुराना नेताहरूसँग व्यक्तिगत मोबाइलमा रेकर्ड गरेर अन्तर्वार्ताहरू पनि लिएँ । जे कुरा त्यहाँ लेखेको छु, आधिकारिक कुरा मात्रै समावेश भएको छ । त्यहाँभित्र थुप्रै कुरा छुटेका छन्, छुटेका कुरामा आधिकारिकता प्रमाणित भएमा दोस्रो, तेस्रो एडिसनमा अवश्य हामी समावेश गर्नेछौँ । त्यसमा केही समस्या छैन ।’

कार्यक्रममा पुस्तकको समिक्षा गर्दै पूर्वसचिव खगराज बराल, नेपाल शिक्षक संघका पूर्वअध्यक्ष केशवप्रसाद भट्टराई, डा. जानुका नेपाल पौडेलले शिक्षकप्रति सरकार कहिल्यै उदार नदेखिएको बताउनु भयो । उहाँहरुले सरकारले शिक्षकसंग गरेका सम्झौताहरु कहिल्यै कार्यन्वयन गर्न चासो नदेखाएको आरोप लगाउनु भयो ।

शिक्षकहरुप्रति सरकारले गरेका व्यवहारको कारण शिक्षण पेशामा मान्छेहरुको अरुची बढ्दै गएको उहाँहरुको भनाई छ ।