भूकम्पपछिको पुननिर्माणः साँघुरो भयो अनुदानको घर • Image Khabar Image Khabar


भूकम्पपछिको पुननिर्माणः साँघुरो भयो अनुदानको घर


Imagekhabar
९ माघ २०७७, शुक्रबार १७:५८

भूकम्पपछिको पुननिर्माणः साँघुरो भयो अनुदानको घर

दुर्गा आचार्य (ईमेज)
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–९, ज्यामिरेकी उर्मिला कार्कीलाई आफ्नो नवनिर्मित घरमा अन्नपात राख्ने ठाउँ नहुँदा कसरी निर्वाह गर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।
पुख्र्यौली घर २०७२ सालको भूकम्पले ढालेपछि सरकारको अनुदानमा आफूले ज्याला मजदुरी गरेर बनाएको घर सानो र साँघुरो भएकाले अन्नपात र अन्य सामाग्री राख्ने ठाउँ नहुँदा भएका सामाग्री कहाँ राख्ने भन्ने चिन्ताले सताउन थालेको हो । भूकम्प गएको चार वर्षपछि निर्माण गरेको दुई कोठे घर भान्छा र परिवारलाई सुत्न समेत साँघुरो भएपछि भूकम्पपछि बनाएको टहरो समेत हटाउन नपाएको उनको गुनासो छ । ‘अनुदानको पैसाले मापदण्ड अनुसारको घर बनाउन नपुग्ने भएकाले सानो घर बनाइयो’, कार्कीले भनिन्,‘अहिले अन्नपात र घरमा दैनिक उपभोगका लागि आबश्यक पर्ने सामाग्री राख्ने ठाउँ छैन ।’

इन्द्रावती गाउँपालिका–६, बाँडेगाउँका नातीबाबु थापाले पनि आर्थिक अभावका कारण भूकम्प प्रतिरोधी मापदण्ड अनुसार एक कोठाको घर बनाएका थिए । दुई वर्ष अघि उनले बनाएको घर आफू र आफ्नो परिवारको बसोबासको लागि साँघुरो भएपछि अहिले जस्ताको टहरो हालेर भान्छा र भण्डार कोठा बनाउन थालेका छन् । ‘सरकारले दिने तीन लाख रुपैया अनुदानले एक कोठा घर बनाउन मुस्किल भयो’, थापा भन्छन्, ‘घर बनाइ सकेपछि परिवार त कुरै छाडौं एक जना बस्न पनि अपुग हुन थालेको छ ।’

भूकम्प अघि ढुंगा माटोले बनेको तीन तले घरमा अन्न पात राख्न र आफू बस्न सहजै पुगेको अनुभव सुनाउने थापा पछिल्लो समय अनुदानका लागि मापदण्ड अनुसारको घर बनाउँदा बसोबास नै कष्टकर बनेको गुनासो गर्छन् । कार्की र थापा मात्र होइन मेलम्ची नगरपालिका–१० का हेडमबहादुर कार्कीले पनि भूकम्पपछिको पुर्ननिर्माणको क्रममा दुई कोठाको घर बनाए । अनुदानमा प्राप्त तीन लाख रुपैयामा थप्ने पैसा नहुँदा सानो घर बनाएका कार्की अहिले अन्नपात र अन्य सामाग्री राख्ने ठाउँ नहुँदा टहरो बनाउन थालेका छन् । कार्कीकै टोलका मात्र १० परिवारले सानो घर बनाएकै कारण भान्छा र स्टोरको प्रयोजनको लागि थप टहरो बनाएका छन् । आफूसँग पैसा कम भएकाले अनुदानको रकमले सानो घर बनाइयो, कार्की भन्छन्, अहिले घर आफ्नो लागि प्रयाप्त भएन अर्को टहरो बनाउनु पर्‍यो ।

पुर्ननिर्माण प्राधिकरणले अनुदानको समय सीमा तोकेका कारण २०७५ सालमै दुई कोठे घर बनाएका मेलम्चीकै हरिशरण थापा अहिले पुनः अर्को दुई कोठाको घर बनाउन थालेका छन् । त्यतिबेला निश्चित समयसम्म घर नबनाए अनुदान पाईंदैन भने घर आफ्नो लागि अपुग भएकाले अहिले फेरी ऋण गरेर अर्को घर बनाउनु परेको थापाको गुनासो छ । पहिलेको घर अनुदानको लागि बनाइएछ, थापा भन्छन्, अब फेरी आफ्नो लागि अर्को घर बनाउन थालेको छु ।

कतिपयले आफ्नो आबश्यकता भन्दा पनि अनुदान पाईंदैन की भनेर हतारमा सानो घर बनाउँदा समस्यामा परेको राष्टिय पुर्ननिर्माण प्राधिकरणमा कार्यरत प्राविधिक प्रकाश कार्कीले बताए । अधिकांशले अनुदान लिनकै लागि सानो घर बनाए, कार्कीले भने, अहिले दैनिक जीवन यापनका लागि समस्या परेपछि सानो घर बनाएकोमा पश्चाताप गर्न थालेका छन् । भूकम्पले भएको संरचना ढालेपछि गरिबीको चपेटामा परेकै कारण पुर्ननिर्माण गर्दा सानो घर बनेकाले लाभग्राहीहरु साँघुरो गरी बस्न बाध्य भएको देखिएको कार्कीले सुनाए । विगतमा लम्बाइ चौडाई कम भएपनि तीन तला र बार्दली भएको घर हुँदा सबै प्रयोजनको लागि प्रयाप्त थियो, कार्कीले भने, अहिले प्राधिकरणको मापदण्ड अनुसार बनाउँदा क्षेत्रफल र तलामा बाध्यकारी व्यवस्था भएकाले त्यही क्षेत्रफलमा बनेको घर पनि साँघुरो भएको छ ।

भूकम्पपछि सरकारले अनुदान उपलव्ध गराउन थालेपछि आफ्नो वडाका आधा भन्दा बढि घर एक वा दुई कोठाको बनेका मेलम्ची नगरपालिका–९ का वडाअध्यक्ष कमलबहादुर खड्का बताउँछन् । खड्काका अनुसार गाउँमा एक वा दुई कोठाका घर बन्दा नागरिकले आफ्नो घरमा बसेको भन्दा पनि भाडामा कोठा लिएर बसेको अनुभव गर्न थालेका छन् । ग्रामीण परिवेसमा आफ्नो जग्गाबाट उत्पादित अन्नपात र कृषि सामाग्री व्यवस्थापनमा नै भूकम्पपछि बनेका घर साँघुरो देखिएको वडाअध्यक्ष खड्काले बताए । खड्काको भनाइमा गाउँमा बिपन्न समुदायले मात्र हैन अन्यत्र बसोबासको व्यवस्था भएकाहरुले पनि अनुदान लिनकै लागि एक कोठे घर निर्माण गरेका छन् । एकिन तथ्यांक नभएपनि झण्डै ५० प्रतिशत घर एक वा दुई कोठाको भएको उनले जानकारी दिए । पुननिर्माण प्राधिकरणको मापदण्ड पालना गर्नै पर्ने बाध्यकारी व्यवस्थाले पनि आफ्नो आबश्यकता भन्दा सानो घर बनेको खड्काको तर्क छ । आफ्नो प्रयाप्त जमिन नभएकाले पनि गाउँमा अधिकांश सानो घर बनेका उनले बताए । ग्रामीण भेगमा र सँगै गोठ र रक्ष्यान पनि चाहिन्छ, खड्काले भने, थोरै जग्गामा सबै व्यवस्थापन गर्न खोज्दा घर सानो बनेका छन् ।

भूकम्पपछि सिन्धुपाल्चोकमा ९० हजार नौ सय चार जनालाई राष्टिय पुननिर्माण प्राधिकरणले लाभग्राही सूचीमा समावेस गरेको छ । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) को तथ्यांक अनुसार जिल्लामा ८२ हजार पाँच सय २३ लाभग्राहीले आफ्नो घर निर्माण गरेर तेस्रो किस्ता अनुदान लिइसकेका छन् । इकाई प्रमुख सन्तोष निरौलाका अनुसार पुननिर्माण भएका अधिकांश घर भूकम्प प्रतिरोधी मापदण्ड अनुसार भएपनि एक वा दुई कोठाका भएकाले सर्वसाधारणको उपयोगिताको आधारले भने साँघुरो देखिएका छन् । ‘प्रायः गाउँहरुमा एक वा दुई कोठे घर बनेका छन्’, निरौलाले भने, ‘भूकम्प प्रतिरोधी मापदण्ड अनुसार भएपनि बसोबासका लागि भने प्रयाप्त छैनन् ।’ अनुगमनका कारण सानो घर बन्ने कारण सोध्दा अधिकांशले आर्थिक अभाव र जग्गाको समस्या देखाउने गरेको निरौलाले जानकारी दिए । धेरै जना आर्थिक अभावकै कारण सानो घर बनेको बताउनु हुन्छ, निरौलाले भने, केही चाहीं जग्गाको समस्याको कारण पनि सानो घर बनाएको बताउनुहुन्छ ।

आर्थिक अभाव र जग्गाको समस्या सानो घर बन्नुको प्रमुख कारण भएपनि अन्यत्र बसोबासको व्यवस्था भएका लाभग्राहीले पनि अनुदान लिनका लागि सानो घर बनाएका छन् । भूकम्प अघि एकै परिवारका भएपनि गलत विवरण दिएर छुट्टी बसेको भनि विवरण भराएर एकै परिवारका दुई वा दुई भन्दा बढि लाभग्राही बनेकाहरुले पनि एक वा दुई कोठाको घर बनाएका छन् । प्राधिकरणले अन्यत्र बसोबासको व्यवस्था भएका र छुट्टी भिन्न नबसेकालाई अनुदान दिन नमिल्ने नीति लिएको भएपनि गलत विवरण दिएर लाभग्राही बनेकाहरुले पनि अनुदान लिनकै लागी सानो घर बनाएको एक जनप्रतिनिधिले बताए ।

प्रतिक्रिया दिनुहोस्