Logo १८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४३ दिनपछि खुल्यो


0
Shares

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको केन्द्रीय तथा शैक्षिक प्रशासनमा भएको तालाबन्दी ४३ दिनपछि खुलेको छ ।

प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर राजेन्द्रराज वाग्लेले तेस्रो डीन मुनिराज क्षेत्रीलाई नियुक्त गरेको विरोधमा प्रतिष्ठान कर्मचारी कल्याणकारी समाजले असोज २८ गतेदेखि तालाबन्दी गरेको थियो ।

प्रतिष्ठानमा दुई जना डीन नियुक्त गरिसकेका उपकुलपति वाग्लेले कार्यकारी परिषद्को बैठकको निर्णयविना प्रतिष्ठान सम्पर्क कार्यालयबाटै तेस्रो डीन नियुक्त गरी संस्थालाई आर्थिक भार पारेको भन्दै समाजले डीन नियुक्ति फिर्ता लिनुपर्ने माग राखेको थियो ।

तालाबन्दी खोल्न उपकुलपतिले सम्पर्क कार्यालय काठमाडौँबाट प्रतिनिधिमण्डल खटाएर पटकपटक वार्ता गर्न निर्देशन दिए पनि तालाबन्दी खुल्न सकेको थिएन ।

तर प्रतिष्ठान कल्याणकारी समाज र उपकुलपतिसहितको पदाधिकारीको टोलीले माग गरिएका तीन वटा मुख्य बुँदामा सहमति भएपछि ताला खुलेको हो ।

सहमति भएअनुसार हाल नियुक्त भएका डीन र अन्य डीनको सम्बन्धमा तीन सदस्यीय कार्यदल गठन गर्ने र उक्त कार्यदलले पेश गरेको प्रतिवेदन कार्यकारी परिषद्मा पेश गर्ने सहमति भएको छ ।

त्यसैगरी प्रतिष्ठानको कार्यकारी परिषद्ले आगामी सिनेट बैठकमा निर्णय गराई एक जना डीन प्रमुख रहने र अन्य संकायका डीन सहायक डीन रहने र प्रतिष्ठानमा कार्यरत कुनै पनि कर्मचारी बाहिर काम गर्न र दोहोरो सुविधा भोग गर्न नपाउने गरी सहमति भएको बताइएको छ ।

यता ललितपुरको महालक्ष्मी स्थानमा रहेको प्रतिष्ठानको सम्पर्क कार्यालय हटाउने र उक्त सम्पर्क कार्यालयमा कार्यरत कर्मचारीलाई एक हप्ताभित्र प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्ला बोलाउने सहमति भएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।