कोरोनाभाइरसलाई जितिसकेकामा किन हुन्छ पुनः संक्रमण ? • Image Khabar Image Khabar


कोरोनाभाइरसलाई जितिसकेकामा किन हुन्छ पुनः संक्रमण ?


प्रज्ञा तिमल्सिना (इमेज)
१७ कार्तिक २०७७, सोमबार १८:२१

कोरोनाभाइरसलाई जितिसकेकामा किन हुन्छ पुनः संक्रमण ?

काठमाडौं, कात्तिक १७ । कोरोनाभाइरस संक्रमण विश्वव्यापीरुपमा निकै बढेको छ । संक्रमणमुक्त भएका देशहरुमा समेत पुन संक्रमण देखिन थालेको छ ।

केही देशमा भने एकपटक भाइरसलाई जितिसकेका व्यक्तिमा पनि संक्रमण देखिन थालेको छ ।

यसरी पुन संक्रमण देखिने व्यक्तिहरुमा झन् जटिल स्वास्थ्य समस्या आउनसक्नेसमेत वैज्ञानिकहरुले जनाएका छन् ।

गत अगस्ट २५ तारिखमा अमेरिकाको क्लिनिकल इन्फेक्सियस डिजिजेज् नामक जर्नलमा हङकङ निवासी एक ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण जितेको १४२ दिनको दिन पुन संक्रमण देखिएको प्रकाशन भयो ।

जर्नलले पुन संक्रमण देखिएका उनमा भाइरसको प्रवृत्ति फरक पाइएको र स्वास्थ्यमा जटिल समस्यासमेत देखिएको उल्लेख गरेको छ ।

अमेरिका, बेलायत, रुस, नेदरल्यान्ड्स र कोरियालगायतका देशमा संक्रमण पुनः दोहोरिएको घटनाहरु प्रकाशनमा आइरहेका छन् । ती संक्रमण पहिलो संक्रमणभन्दा भिन्न र जटिल पाइएको वैज्ञानिकहरुले जनाएका छन् ।

भाइरस नयाँ रुपबाट वा फरक प्रवृत्तिबाट अनुवंशिक परिवर्तन भयो भने त्यसले भयावह रुप लिनसक्ने वैज्ञानिकहरुले बताउँदै आएका छन् ।

किन फर्कन्छ भाइरस ? किन एकपटक निको भइसकेका व्यक्तिलाई पुनः संक्रमण देखिन्छ ?

यसबारे हामीले स्वास्थ्य मन्त्रालयका विज्ञ स्वास्थ्य सल्लाहकार डा. सुरेश तिवारीलाई सोधेका थियौं । उहाँको भनाइ भिडियोमा हेर्नुहोस् ।

विश्वमा हाल कोरोनाभाइरसको ‘जेनेटिक’ परिवर्तन भइसक्यो भन्ने आँकलनमात्र गरिएको छ । यसको वैज्ञानिक आधारमा पुष्टि भने भइसकेको छैन ।

तर, एकपटक संक्रमण देखिएको व्यक्तिमा पुनः संक्रमण कति समयपछि देखिन्छ भन्नेमा भने वैज्ञानिकहरुले प्रश्न उठाएका छन् ।

भाइरसविरुद्ध शरीरमा रोगसँग लड्नसक्ने क्षमता कति समयसम्म हुन्छ अझै निर्क्योल हुन नसकेको डा. तिवारी बताउनुहुन्छ ।

कोरोना संक्रमण फैलिरहेको समयमा नै मानिसहरुको आवात–जावत बढेका कारण पनि भाइरसको जेनेटिक परिवर्तन भएको हुनसक्ने डा. तिवारीको भनाइ छ ।

एकपटक संक्रमण जितेका व्यक्तिमा पुन संक्रमण भए त्यो जटिल हुने र त्यसले शरीरका विभिन्न अंगहरुमा असर गरी मृत्यु हुने दरसमेत बढाउने उक्त जर्नलमा उल्लेख गरिएको छ ।

नेपालमा गएको असोज १६ देखि आउँदो पुस १६ गतेसम्म तीन महिना संक्रमण उच्च विन्दुमा पुग्ने र त्यसपश्चात् भने घट्ने स्वास्थ्य मन्त्रालयको आँकलन छ ।

तर, नेपालमा भने हालसम्म पुनः संक्रमण भइ जटिल स्वास्थ्य समस्या भएको भने पाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्