कांग्रेस सांसदले गरे प्रदेशसभामा तोडफोड (भिडियोसहित) • Image Khabar Image Khabar


कांग्रेस सांसदले गरे प्रदेशसभामा तोडफोड (भिडियोसहित)


इमेजखबर
१९ आश्विन २०७७, सोमबार १७:५१

कांग्रेस सांसदले गरे प्रदेशसभामा तोडफोड (भिडियोसहित)

बुटवल, असोज १९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले प्रदेश नम्बर-५ को प्रदेशसभा बैठकमा तोडफोड गरेका छन ।

प्रदेश–५ को स्थायी राजधानीका विषयमा असन्तुष्ट कांग्रेस सांसदहरुले सोमबार प्रदेशसभा हलको कुर्सी र माइक तोडफोड गरेका हुन् ।

प्रदेशसभाको सोमबार दोस्रोपटक बसेको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई प्रदेशको नाम र राजधानीबारेको प्रस्ताव छलफलका लागि पेस गर्न समय दिनुभएको थियो ।

नाराबाजी र प्रदर्शन गरिरहेका सांसदहरूले मन्त्री केसीलाई ‘रोष्टम’ जान अवरोध अवरोध गरेका थिए । उनीहरुले सत्तापक्षले सर्वसत्तावाद लाद्न खोजेको भन्दै नाराबाजी गरिरहेका थिए ।

कांग्रेस सांसदहरूबाट फुत्किएर रोष्टममा पुग्नुभएका मन्त्री केसीले नाराबाजीकैक्रममा नामाकरण लुम्बिनी र प्रदेशको स्थायी राजधानी दाङ बनाउने प्रस्ताव छलफलका लागि पेस गर्नुभएको थियो ।

मन्त्री केसीले प्रस्ताव पेसगरे लगत्तै नाराबाजीमा उत्रिएका कांग्रेस सांसदहरुले आफू बस्ने कुर्सीछेउ पुगेर कुर्सी उचालेर तोडफोडमा उत्रिए ।

कांग्रेस सांसद वसिउद्दिन खाँ, अष्टभुजा पाठक र वैजनाथ कलवारले कुर्सी उचालेर प्रहार गरेका थिए ।

कांग्रेस सांसदहरुको विरोधकाबीच सभामुख घर्तीमगरले प्रस्तावउपरको छलफललाई अघि बढाउनुभएको थियो ।

सोमबारको बैठकमा बोल्ने सांसदहरुले प्रदेशको नामाकरण र राजधानीका विषयमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए ।

प्रदेशसभाको बैठक मंगलबार (भोलि)सम्मका लागि स्थगित भएको छ । प्रस्तावमाथि छलफल सुरु भएर केही सांसदले भाग लिएपछि सभामुख घर्तीले मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।

भिडियो हेर्नोस्

प्रतिक्रिया दिनुहोस्