Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


सुस्तामा सीमा सुरक्षाको विषय जटिल बन्दै

सुस्ताको सीमा संकेतका रूपमा रहेको ‘रुख’ पनि बाढीले बगायो

390
Shares




परासी । नेपाल–भारतको सीमा छुट्टाउनका लागि आपसी सहमतिमा सांकेतिक रुपमा कायम गरिएको सिमलको रुख बाढीले बगाएको छ।

नवलपरासीको नारायणी नदीपारी रहेको सुस्तामा सीमा स्तम्भ नहुँदा भारतीय पक्षले पटकपटक विवाद गर्दै आएको हाे । विवादलाई समाधान गर्नका लागि सुस्तासँग सीमा जोडिएका नेपाल र भारतका जिल्लास्तरका सुरक्षा प्रमुख र स्थानीयको सहभागितामा १८ वर्षअघि (२०६५ साल) सिमलको रुखलाई सांकेतिक सीमा चिन्ह मान्दै आइएको सुस्ता बचाउ अभियानका अध्यक्ष आदम खाँले जानकारी दिनुएकाे छ।

बुधबार राति नारायणी नदीमा आएको बाढीले उक्त रुख बगाएर लगेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताउनुभयाे । बाढीका कारण सुस्ताको थारु टोलामा समेत पानी पसे पनि ठूलो क्षति भने नभएकाे उहाँकाे भनाइ छ । सुस्ता गाउँलाई बाढीबाट जोगाउन नारायणी नदीमा सरकारले १ सय ३२ मिटर तटबन्ध निर्माण गर्न लागेको थियो ।

तर उक्त तटबन्धलाई महिना दिनअघि भारतीय एसएसबीले अवरोध गरेका कारण काम अघि बढ्न नसक्दा सोही क्षेत्रबाट बाढी पसेको स्थानीयले बताएका छन् । सीमा स्तम्भ नहुँदा सांकेतिक रुपमा सीमा छुट्याउँदै आएको रुख नै बाढीले बगाएपछि सुस्तामा सीमा सुरक्षाको विषय अझ जटिल बन्न सक्ने भन्दै तत्कालका लागि स्थानीयस्तरमा आउन सक्ने विवादतर्फ ध्यान दिन सुस्ताबासीले सम्बन्धित निकायसँग माग गरेका हुन् ।

सुस्तामा २ सय २० घरधुरीका १४ सय ५७ घरपरिवारको बसोबास रहेकाे छ ।

Skip This