Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले गढवा गाउँपालिकालाई बुझायाे ज्ञापनपत्र


0
Shares

काठमाडाैं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल, गढवा गाउँपालिकाले खानेपानी उपभोक्ता समिति तथा संस्थाहरूको अध्यावधिक, नवीकरण र खानेपानी शाखा सञ्चालनको माग गर्दै पालिकालाई ज्ञापनपत्र बुझाएको छ।

महासंघ गढवा गाउँपालिकाका अध्यक्ष कृष्णराज पाण्डेको नेतृत्वमा गएको टोलीले साेमबार गढवा गाउँपालिकाका कार्यवाहक अध्यक्ष लेखबहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएको हो। स्थानीय तहमा रहेका खानेपानी उपभोक्ता समितिहरूका आवश्यक कागजपत्र जिल्ला जलस्रोत कार्यालय दाङबाट गढवा गाउँपालिकामा आएको लामो समय भइसक्दा पनि समिति तथा संस्थाहरूको अध्यावधिक गर्ने कार्य हुन नसकेको महासंघले जनाएको छ।

गाउँपालिकामा छुट्टै खानेपानी शाखा समेत सञ्चालनमा नरहेकाले समिति तथा संस्थाहरूको नवीकरणलगायतका काममा समस्या भइरहेको भन्दै महासंघले तत्काल अध्यावधिक गर्ने व्यवस्था मिलाउन र खानेपानी शाखा सञ्चालनमा ल्याउन माग गरेको हाे। ज्ञापनपत्र बुझ्दै गढवा गाउँपालिकाका कार्यवाहक अध्यक्ष थापाले खानेपानी तथा सरसफाइ क्षेत्र नागरिकको आधारभूत आवश्यकता र स्थानीय तहको महत्वपूर्ण जिम्मेवारी भएको बताउँदै महासंघले उठाएका विषयलाई सकारात्मक रूपमा लिइने प्रतिबद्धता जनाउनुभएकाे छ।

उहाँले ज्ञापनपत्रलाई बेवास्ता नगर्ने बताउँदै गाउँपालिकाको अधिकार क्षेत्रभित्र रहेका र गर्न सकिने कामहरूलाई प्राथमिकताका साथ अघि बढाउने आश्वासन दिनुभयो। कार्यवाहक अध्यक्ष थापाले खानेपानी उपभोक्ता समिति तथा संस्थाहरूलाई आवश्यक पर्ने प्रशासनिक तथा नवीकरण सम्बन्धी कामलाई सहज बनाउन सम्बन्धित शाखा तथा कर्मचारीसँग समन्वय गरी समस्या समाधानतर्फ अघि बढ्ने बताउनुभएकाे छ। महासंघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको हो।

महासंघले खानेपानी उपभोक्ता समिति तथा संस्थाहरूको कामलाई व्यवस्थित, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन गाउँपालिकाले आवश्यक पहल गर्ने अपेक्षा समेत व्यक्त गरेको छ।