काठमाडौं माछापोखरीबाट दुई पेस्तोल र १० राउण्ड गोली बरामद, दुई जना पक्राउ • Image Khabar Image Khabar


काठमाडौं माछापोखरीबाट दुई पेस्तोल र १० राउण्ड गोली बरामद, दुई जना पक्राउ


Imagekhabar
४ भाद्र २०७७, बिहीबार १३:४७

crime kathmandu two pistol magzine

काठमाडौं, भदौं ४ । प्रहरीले काठमाडौं माछापोखरीबाट दुई वटा पेस्तोल, त्यसमा लाग्ने दुई म्यागजिन र १० राउण्ड गोली बरामद गरेको छ ।

घटनामा संलग्न एक जना माछापोखरीबाटै समातिएका छन् भने अर्का एक जना व्यक्तिलाई नुवाकोटबाट पक्राउ गरिएको छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार पक्राउ पर्ने नुवाकोट शिखरवेसी–६ का विकेश पण्डित र नुवाकोटको लिखु गाउँपालिका–१ का अमर तामाङ हुन् ।

तामाङले दिएको हतियार ल्याउँदै गर्दा पण्डित पक्राउ परेका थिए । तामाङलाई भने अपराध महाशाखाका प्रहरी निरीक्षक भोलाकुमार भट्टको कमाण्डमा नुवाकोट गएको टोलीले घरबाटै पक्रेर ल्याएको हो ।

तामाङ डाँका सम्बन्धी मुद्दामा ६ वर्ष २ महिना कैद काटेर गत २२ फागुनमा छुटेका थिए । बरामद हतियार, हातहतियार तथा खरखजना र डाँका सम्बन्धी मुद्दामा सँगै कारागारमा रहेका धनुषाका शम्भु कार्कीको भएको बयान दिएको प्रहरीले जनाएको छ ।

कार्कीले नै बरामद हतियार लागूऔषध मुद्दामा कारागारमा रहेका राजकुमार गुरुङलाई राख्न दिएको खुलेको छ । उनले बालाजुका एक होटल सञ्चालकलाई हतियार राख्न दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्