निषेधाज्ञासँगै रगतको अभाव • Image Khabar Image Khabar


निषेधाज्ञासँगै रगतको अभाव


Imagekhabar
३ भाद्र २०७७, बुधबार १८:२६

निषेधाज्ञासँगै रगतको अभाव

चितवन, भदौ ३ । निषेधाज्ञासँगै जिल्लामा रगतको अभाव देखिएको छ ।

यहाँ भरतपुर अस्पताल, विपि कोईराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज र २४ साना ठूला अस्पताल रहेका छन् ।

ती अस्पतालमा शल्यक्रिया गर्न आउने बिरामीले अहिले निषेधाज्ञाका कारण रगत नपाएर शल्यक्रिया रोकिन थालेको छ ।

कोरोना सङ्क्रमण फैलन सक्ने भन्दै सरकारले गरेको चार महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण रगत प्रयाप्त मात्रामा पाउन कठिन भएको हो ।

पछिल्ला हप्ताबाट चिकित्सक, स्वास्थ्यकर्मीलगायत बिरामीमा पनि कोरोना सङ्क्रमण देखिएको छ ।

जसका कारण रक्तदाता इच्छा हुंँदाहुदै पनि केन्द्रसम्म आउन नसकेकाले रगतको अभाव भएको रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले बताउनुभयो ।

कोरोना त्रास र जोखिमका कारण रक्तदाता रगत दिन डराएका उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “हामीसंँग जगेडा रगत छैन, बिरामीलाई चाहिएमा रगत सट्टापट्टा गरेर चलाएका छौं।”

यसअघि दैनिक ६० पोकासम्म रगत सङ्कलन हुदै आए पनि निषेधाज्ञापछि रगत सङ्कलन हुन छाडेको छ ।

अहिले आकस्मिक बिरामीका लागि पनि रगत पाउने अवस्था नभएको उहाँले बताउनुभयो ।

पौडेलका अनुसार जिल्लाका अस्पतालहा दैनिक औसत १५० युनिट रगत आवश्यक पर्छ ।

कार्यालयले यसअघि चितवनसँगै नवलपुर, बारा, सर्लाही, रौतहट, मकवानपुरलगायतका जिल्लाबाट रगत सङ्कलन गरेर ल्याउने गर्दथ्यो ।

अहिले ती जिल्लामा रक्तदान कार्यक्रम भएका छैनन् ।

रगतको अभावका कारण सुत्केरी र क्यान्सरका बिरामी बढी प्रभावित भएका छन् ।

बाहिरी जिल्लाबाट आएका बिरामीका आफन्तले यहाँ रक्तदाता जुटाउन मुस्किल पर्ने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्