२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कोरोना संक्रमितलाई रिपोर्ट नआउँदै घर पठाएपछि गाउँमा त्रास, परिवारको समेत कन्ट्याक्ट ट्रेसिङ भएन


0
Shares

-विराज रोस्यारा /ईमेज
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितलाई रिपोर्ट नआउँदै घर पठाएपछि गाउँमा त्रास छाएको छ । आरडिटी रिपोर्ट पोजेटिभ देखिएर घर पठाएका कयौँ मानिसमा पीसीआर रिपोर्ट पनि पोजेटिभ देखिएपछि गाउँमा त्रास बढेको हो । कैलालीको गौरीगंगा नगरपालिकाका ५० जनालाई पिसीआर रिपोर्ट नआउँदै घर पठाइएको थियो ।

आरडिटी पोजेटिभ भएका उनीहरुको जेठ १८ गते स्वाव संकलन गरिएकोमा धेरै दिनसम्म रिपोर्ट नआएपछि उनीहरुलाई ३० गते घर पठाइएको थियो । असार ४ गते उनीहरुमध्ये १८ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आयो । गाउँमा रोपाइँ गर्नदेखी आफन्तसँग निकै घुलमिल भइसकेका उनीहरुलाई ४ गते स्थानीय जनप्रतिनिधीले होम आइसोलेशनमा बस्न निर्देशन दिएका थिए ।

करिब १४ दिन होम आइसोलेसनमा बसेकाहरु केही दिनदेखी घर परिवारसँगै बस्न थालेका छन् । कोरोना जाँच नगर्दै घर परिवारसँग बस्न सुझाव दिएपछि उनीहरुमा कोरोना संक्रमण भएको वा नभएको भन्नेमा अन्यौल र चिन्ता बढेको बताउँछन् । घर पठाएको ६ दिनपछि कोरोना संक्रमित भएका उनीहरुका परिवारको कन्ट्याक्ट ट्रेसिङसमेत हुन सकेको छैन । कोरोना संक्रमितको पुनः जाँच नगरी घुलमिल हुँदा परिवारमा पनि त्रास बढेको छ ।

गत जेठ ३० गते विद्यालयको क्वारेन्टिनमा बसेका ५० जना आन्दोलन गरेर आफै घर गएका थिए । उनीहरुलाई रोक्ने प्रयास गरेको स्थानीय सरकारको दाबी छ । पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई होम आइसोलेशनमै बस्न आग्रह गरेको गौरी गंगा नगरपालिका–१ का अध्यक्ष जगतराम चौधरीले बताउनुभयो ।

१४ दिनपछि होम आइसोलेसनमा बस्नुपर्ने नियम आफुलाई उचित नलागेपनि बाध्य भएर घर पठाउनुपरेको चौधरी बताउनुहुन्छ । पीसीआर परीक्षण नगरी घर परिवारसँग घुलमिल हुँदा संक्रमणको जोखिम ह्वात्तै बढेको छ । त्यसैले संक्रमितको सम्पर्कमा आएकाहरुसँगै परिवारको कन्ट्याक्ट ट्रेसिङ गरी होम आइसोलेशनमा बस्ने नियम बन्द गर्न स्थानीयको माग छ ।

(हेर्नुहोस् भिडियो)