नौ वर्षमुनिका बालबालिकामा बढ्दै कोरोना सङ्क्रमण - Image Khabar
Everest Bank

नौ वर्षमुनिका बालबालिकामा बढ्दै कोरोना सङ्क्रमण

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो ।

एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना सङ्क्रमण देखिए पनि सो सङ्ख्या बढ्दै गएको निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताउनुभयो । “सङ्क्रमण देखिएका सबै बालबालिका बुवाआमासित भारतबाट फर्किएकाहरु हुन्”, उहाँले भन्नुभयो । कोरोना सङ्क्रमणबाट बाजुरामा केही समयअघि दुई वर्षीया बालिकाको समेत मृत्यु भइसकेको छ ।

त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालबाट ११ महिने बालक कोरोना जितेर फर्किसकेका छन् । मङ्गलबार साँझसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी दुई हजार ४८३ जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । तीमध्ये ५७३ महिला सङ्क्रमित छन् ।

“महिलाहरु पनि प्रायः श्रीमान्सँगै भारतबाटै फर्किएका र रोजगारीबाट फर्किएका नै बढी सङ्क्रमित छन्”, उहाँले भन्नुभयो, “समुदायमा महिला सङ्क्रमित सङ्ख्या न्यून छ ।” कोरोनाबाट यहाँ हालसम्म पाँचको मृत्यु भइसकेको छ भने ४७९ सङ्क्रमित निको भइसकेका छन् ।

यहाँ सबैभन्दा बढी कैलालीका ५९७ र सबैभन्दा कम दार्चुलामा ४३ जनामा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । निर्देशक डा अवस्थीले कोरोना परीक्षणको दायरा बढाउन सुदूरपश्चिममा तीन जिल्लामा पिसीआर मेसिन जडानको काम थालिने बताउनुभयो ।

“डोटी, बैतडी र कैलालीमा गरी तीन ठाउँमा जडान हुने प्रयोगशालाका लागि सामान आउने क्रम शुरु भइसकेको छ”, अवस्थीले भन्नुभयो, “सात÷दश दिनमा सबै सामान आइसक्छ ।” रासस

प्रतिक्रिया दिनुहोस्