
काठमाडौं, असार १४ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकार शान्तिपूर्ण आन्दोलनसित त्रस्त बनेको बताउनुभएको छ ।
‘नागरिकको ज्यान बचाऊ’ भन्दै सडकमा शान्तिपूर्ण प्रदर्शनमा उत्रनेहरुलाई धम्की र धरपकड गरिएकोप्रति उहाँले आपत्ति जनाउनुभएको हो ।
आइतबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले कोरोना महामारीको विषम अवस्थामा युवा नागरिकहरुले सरकारलाई झक्झक्याउँदै गम्भीर हुन आग्रह गरिरहेको तर सरकारले उनीहरुका जायज मागहरुको सुनुवाइ नगरेको उल्लेख गर्नुभएको छ ।
सत्तामा हुनेहरुले आफ्नो कमजोरी ढाकछोप गर्न प्रदर्शनकारीहरुलाई नै बदनाम गर्ने प्रयास गरेको भन्दै उहाँले सरकारको अलोकतान्त्रिक कदम स्वीकार्य नहुने जनाउनुभएको छ ।
उहाँले युवाहरुको उक्त आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको र तत्काल सत्याग्रही युवाहरुको माग पूरा गर्न सरकारको ध्यानाकर्षणसमेत गराउनुभएको छ ।
विज्ञप्ति पढ्नोस्
प्रेस विज्ञप्ति
नेपालमा कोभिड–१९ व्यवस्थापनमा भइरहेको भाँडभैलो र भ्रष्टाचारको विरोधमा हामीले लामो समयदेखि आवाज उठाइरहेका छौं । सिंगो देशको स्वास्थ्य सेवा महामारीका कारण अस्तव्यस्त हुँदा तथा देशको अर्थतन्त्र तहसनहस हुँदा नागरिकलाई राहत दिनको सट्टा सत्तामा हुने मानिसहरु अनियमितता र भ्रष्टाचारमा लिप्त हुनु दुर्भाग्यपूर्ण कुरा हो । महामारीको जोखिम झनै गहिरिइरहेको बेला अहिले पनि सरकारको ध्यान नागरिकको ज्यान जोगाउने कुरामा केन्द्रित हुन सकेको छैन । कोरोनाको परीक्षण क्षमता आवश्यकता अनुसार बढ्न सकेको छैन भने अरु रोगका बिरामीसमेत उपचार नपाएर धमाधम मृत्युवरण गरिरहेका छन् ।
यस्तो विषम अवस्थामा युवा नागरिकहरुले बारम्बार सरकारलाई झक्झक्याउँदै गम्भीर हुन आग्रह गरिरहेका छन् । लकडाउन हल्का भए लगत्तै देशभरका सडकमा निस्केर उनीहरुले प्रदर्शन पनि गरेका छन् । तर सत्तामा र त्यस वरपर हुनेहरुले उनीहरुका जायज मागहरुका सुनुवाइ गर्नको सट्टा आफ्नो कमजोरी ढाकछोप गर्न प्रदर्शनकारीहरुलाई नै बदनाम गर्ने प्रयास गर्दै आएका छन् । प्रदर्शनकारीहरुमाथि धम्की र धरपकड सामान्य भइसकेको छ । सरकारको यस्तो अलोकतान्त्रिक काम हामीलाई स्वीकार्य छैन ।
पछिल्लो समय सरकारको नालायकी अचाक्ली बढेसँगै युवाहरुले सत्याग्रहका कार्यक्रम शुरु गरेका छन् । प्रदर्शनको यो विधिले विभिन्न राजनीतिक पार्टीहरुले विगतदेखि गर्दै आएको तोडफोड र हिंसासहितको आन्दोलनको विधिलाई चुनौती दिने तथा शान्तिपूर्ण रुपमै मागहरु पूरा गर्न सरकारलाई बाध्य पार्ने विश्वास हामीले लिएका छौं । सत्याग्रहरत युवालाई यसबीच प्रहरीले पक्रेर छाडेबाट शान्तिपुर्ण आन्दोलनसित सरकार त्रस्त भएको समेत देखिन्छ । तर नागरिकहरुप्रति उत्तरदायी भएर उनीहरुको ज्यान बचाऊ भन्ने माग पूरा गर्न सरकार अझै गम्भीर भएको देखिंदैन । लोकतान्त्रिक व्यवस्थामा योभन्दा लाजमर्दो कुरा अर्को हुन सक्दैन ।
राज्यले आफ्नो आधारभुत जिम्मेवारी पूरा गर्दै नागरिकको ज्यान बचाओस् भन्ने जायज माग रहेकाले उक्त आन्दोलनमा हाम्रो पूर्ण समर्थन तथा ऐक्यबद्धता भएको पनि जानकारी गराउँदै तत्काल सत्याग्रही युवाहरुको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँछौं।
डा. गोविन्द केसी
ताजाकोट, हुम्ला
२०७७।३।१४
प्रतिक्रिया दिनुहोस्