पिसिआर परीक्षणका लागि थप १० प्रयोगशाला सञ्चालन गरिँदै • Image Khabar Image Khabar


पिसिआर परीक्षणका लागि थप १० प्रयोगशाला सञ्चालन गरिँदै


Imagekhabar
१३ असार २०७७, शनिबार ०९:०९

पिसिआर परीक्षणका लागि थप १० प्रयोगशाला सञ्चालन गरिँदै

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १० ठाउँमा कोभिड–१९ को पिसिआर विधिबाट परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने भएको छ ।

कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि १० ठाउँमा प्रयोगशाला स्थापना गर्न थालिएको मन्त्रालयका इन्सिडेन्ट कमाण्ड सिस्टमका संयोजक डा गुणराज लोहनीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र काठमाडौँ, सशस्त्र प्रहरी अस्पताल बलम्बु, पाल्पा अस्पताल तानसेन, धौलागिरि अस्पताल बागलुङ, धनकुटा अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाली सेना अस्पताल काठमाडौँमा प्रयोगशाला स्थापना गरिनेछ ।

अहिले मुलुकभर २३ स्थानमा पिसिआर विधिबाट कोभिड–१९ को परीक्षण हुने गर्दछ । मन्त्रालयले सम्भावित सङ्क्रमितको अवस्था हेरेर ती ठाउँमा प्रयोगशाला स्थापना गर्न थालेको हो ।

यी नयाँ १० ठाउँसँगै अब ३३ ठाउँबाट कोभिड–१९ को पिसिआर विधिबाट परीक्षण हुनेछ । नयाँ ठाउँबाट कोभिड–१९ को परीक्षण गरे दैनिक १० हजार जनाको परीक्षण गर्न सकिने मन्त्रालयले जनाएको छ ।

अहिले २३ प्रयोगशालाबाट दैनिक छ हजार पिसिआर विधिबाट परीक्षण गर्दै आइरहेको छ । अहिलेसम्म दुई लाख छ हजार २७१ जनाको पिसिआर परीक्षण गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्