२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


कोरोना परीक्षण नहुँदा ‘डायलासिस’ गर्न नपाएका व्यक्तिको मृत्यु


0
Shares

corona

बिराज रोस्यारा (इमेज)

कैलाली, असार १० । सेती प्रादेशिक अस्पतालको मेडिकल वार्डमा एक व्यक्तिको मृत्यु भएको छ ।

बैतडीको मेलौली नगरपालिका–३ का ४७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

सेती अस्पताल ल्याइएपछि ‘डायलासिस’ गराउन चिकित्सकहरुले सुझाव दिएको बताउँदै मृतकका आफन्तले कोरोना परीक्षण नहुँदासम्म डायलासिस गर्न नमिल्ने भन्दै रोकेको बताउनुभयो ।

तीन दिनसम्म कोरोना परीक्षण नै नभएको र मंगलबार राति उनको मृत्यु भएको आफन्तले बताएका छन् ।

सेती प्रादेशिक अस्पतालकाअनुसार मंगलबार साँझ कोरोना परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो ।

सेती अस्पतालमा डायलासिस वार्ड सञ्चालन गर्दै आएको बिरङ हेल्थकेयरका व्यवस्थापक दीपक भट्टले डायलासिस गराउनपर्ने जानकारी मंगलबारमात्रै आएको बताउनुभयो ।

भारतबाट आएका व्यक्तिसँग पनि सम्पर्क भएको देखिएकाले ‘पीसीआर’ जाँच गराउन भनेको भट्टको भनाइ छ ।

सेती प्रादेशिक अस्पतालका डा. शेरबहादुर कमरले अस्पतालमा ल्याइएपछि सुरुआतदेखि नै डायलासिस गराउन आग्रह गरिएको बताउनुभयो ।