
काठमाडौं, वैशाख ६ । नेपाली कांग्रेसले व्यवस्थापिका–संसद्को बैठक शीघ्र आह्वान गर्न सरकारसँग आग्रह गरेको छ ।
नयाँ संविधानअनुसार संसद्को नियमावली जारी गर्न पार्टीको तर्फबाट पूर्ण सहयोग हुने संसद्को प्रमुख प्रतिपक्षी दलसमेत रहेको कांग्रेसले जनाएको छ ।
उपत्यकामा उपलब्ध कांग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलको संयुक्त रुपमा आज व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले संसद् बैठक आह्वानमा सरकार उदासीन देखिएको आरोपसमेत लगाएको छ ।
संविधान कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्ने आवश्यक ऐन तथा कानुन संसदमा पेस गर्नुपर्ने र छलफल चलाउनुपर्नेमा सरकार उदासीन बनेको भन्दै सो बैठकले छिटो संसद् बैठक बोलाउन पहल गर्न सरकारसँग माग गरेको कांग्रेसका प्रवक्ता दिलेन्द्र बडूले जानकारी दिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा विजयी भएपछि पहिलो पटक दलको बैठक बसेको हो । देउवा आजै भारत भ्रमणमा प्रस्थान गरेकाले दलको बैठक कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको थियो ।
बैठकको सुरुमा वरिष्ठ नेता पौडेलले मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्था र संविधान कार्यान्वयनमा दलले निर्वाह गरेको भूमिकाका बारेमा प्रकाश पारेका थिए ।
प्रवक्ता बडूले कालोबजारी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाउँदै गणन्त्रवादी र राजतन्त्रवादी मिलेर बनेको सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताए ।
भूकम्पपीडितलाई आवास निर्माण गर्ने आश्वासनमात्र बाड्ने काम सरकार र भूकम्प पुनःनिर्माण प्राविधिकरणले गरिराखेको उनले आरोप लगाए ।
यही वैशाख १० गते हुने आधिकारिक ट्रेड युनियनको निर्वाचनमा प्रजातन्त्रवादी समूहलाई विजय गराउन पहल गर्न बैठकमा छलफल भएको कांग्रेस केन्द्रीय सदस्य डा प्रकाशशरण महतले जानकारी दिए ।
उनले निष्पक्ष निर्वाचन सम्पन्न गर्न सरकारसित आग्रहसमेत गरे ।
अर्का केन्द्रीय सदस्य रामकृष्ण यादवले आगामी वर्षको बजेट तथा योजना तर्जुमा सुरु भएकाले यसका बारेमा संसदमा छलफल हुनुपर्नेमा जोड दिए । (रासस)
प्रतिक्रिया दिनुहोस्